१ मंसिर २०८३, मंगलबार

सार्क क्षेत्रको पर्यटन विकासको कमान चन्द्र ढकालको हातमा, पूर्वाधार र कनेक्टिभिटीमा जोड



सार्क चेम्बरको पर्यटन समितिमा चन्द्र ढकाल चयन, दक्षिण एसियाली पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने दृढता व्यक्त ।

काठमाडाैँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को व्यावसायिक प्रतिनिधि संस्था, सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा प्रमुख नेपाली उद्यमी चन्द्रप्रसाद ढकाल चयन भएका छन्।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई यो महत्त्वपूर्ण क्षेत्रीय जिम्मेवारी सुम्पिएको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन्। उनी चन्द्रागिरि हिल्सलगायत मुलुकका सातवटै प्रदेशमा पर्यटन पूर्वाधारको विकासमा सक्रिय छन्।

साथै, उनले स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धन र लगानीमार्फत नेपालको आतिथ्य क्षेत्रलाई एक नयाँ पहिचान दिएका छन्। दक्षिण एसियाली पर्यटनको नेतृत्व सम्हाल्दै गर्दा उनको यो व्यावसायिक अनुभव र दूरदर्शिताले सिङ्गो क्षेत्रलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।

जिम्मेवारी सम्हालेलगत्तै ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेको धारणा राखेका छन्। उनले सर्वोच्च शिखर सगरमाथाको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जङ्गल, मरुभूमि र समृद्ध धार्मिक सम्पदाहरूले यस क्षेत्रमा पर्यटनको असीमित सम्भावना बोकेको बताएका छन्।

विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने यो क्षेत्र आफैँमा एक विशाल आन्तरिक पर्यटन बजार भएको र यसलाई यथार्थमा बदल्न लगानी विस्तार अपरिहार्य रहेको उनको भनाइ छ।

ढकालले यस क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डहरूलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई समेत टेवा पुर्‍याउने उनको तर्क छ।

नेपालकै सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनहरूलाई आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय स्तरमा जोड्न सकिने विश्वास उनले व्यक्त गरे। क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने भावनाका साथ अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै ढकालले सार्क राष्ट्रका प्रमुख सहरहरूबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्नुपर्ने बताएका छन्। नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई सार्कका प्रमुख गन्तव्यहरूसँग सीधा हवाई सम्पर्कमा जोड्न सके पर्यटक र व्यवसायीको आवागमनमा तीव्रता आउने उनको विश्वास छ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्य अनिवार्य रहेको र सार्क चेम्बरले यसमा पुलको काम गर्ने उनले स्पष्ट पारेका छन्।