राष्ट्रिय बीमा कम्पनीले गोरखाको भिमसेन थापा गाउँपालिकाको सबै नागरिकको दुर्घटना बीमा गरिदिने
काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिका र राष्ट्रिय बीमा कम्पनीबीच सामूहिक दुर्घटना बीमा सम्वन्धी सम्झौता भएको छ ।
अब भिमसेन थापा गाउँपालिकाका नागरिकहरुको बीमा राष्ट्रिय बीमा कम्पनीले गरिदिने भएको हो । सो प्रयोजनका लागि गत आइतबार पालिका र कम्पनीबीच सम्झौता गरिएको छ । सम्झौताअनुसार कम्पनीले १६ हजार ९८६ जना पालिकाबासीको सामूहिक दुर्घटना बीमा गरिदिएको गाँउपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले बताए ।
उनका अनुसार जनगणनाको अन्तिम प्रतिवेदन अनुसार पालिकामा १६ हजार ९८६ जना पालिकाबासी छन् । प्रतिव्यक्ति ५० हजार रुपैयाँको दरले दुर्घटना बीमा गरेको अध्यक्ष बञ्जाराले बताए । पालिकाबासीहरुको बीमालेख अवधि बीमालेख जारी भएको मितिले १ वर्षको हुने उनको भनाई छ ।
सो बीमालेखले सामूहिक बीमालेखमा उल्लेख भए बमोजिमका जोखिमहरुको रक्षावरण गर्ने र सोको लागि प्रतिव्यक्ति बीमाशुल्क ७१ रुपैयाँ ६२५ (छुटसहित) लाग्ने बताइएको छ । यसका साथै टिकट बापत प्रति बीमालेख २० रुपैयाँले लाग्ने गाउँपालिकाले जनाएको छ । तर, सो बीमालेखमा मूल्य अभिवृद्धि कर नलाग्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
राष्ट्रिय बीमा कम्पनीले जारी गरेको बीमालेखले सबै प्रकारको दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधि उपाचार आदिमा बीमितले पाउने सुविधा लगायतको वित्तीय जोखिम बहन गर्नेछ ।
बीमीत नेपालको जुनसुकै ठाँउमा दुर्घटना भएको खण्डमा बीमा रकमबाट २० प्रतिशत भुक्तानी दाबी हुनेछ भने बीमीतको दुर्घटनामा परि मृत्यु भएको खण्डमा ५० हजार रुपैयाँ मृत्यु दावी भुक्तानी पाउने अध्यक्ष बञ्जारले जानकारी दिएका छन् ।













