नेपाल रिले कमायो निर्जीवन व्यवसायबाट ४६ करोड बढी नाफा: बीमा कोषमा साढे २ अर्ब, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन व्यवसायबाट ४६ करोड बढी नाफा कमाएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो देखाएको हो ।
कम्पनीले समिक्षा अवधिमा निर्जीवन बीमा व्यवसायबाट ४६ करोड ४५ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको निर्जीवन व्यवसाय गत आवको पुस मसान्तसम्मको तुलनामा भने ३८.१८ प्रतिशतले वृद्धि गरेको हो ।
गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, जीवन बीमा व्यवसाय भने ऋणात्मक देखिएको छ । सो अवधिमा कम्पनीको जीवन बीमा व्यवसाय १७ करोड २० लाख रुपैयाँ ऋणात्मक छ । समिक्षा अवधिमा कम्पनीको खुद नाफा भने २९ करोड २४ लाख रुपैयाँ रहेको छ ।
सो अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख ७७ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यद्यपि, कम्पनीको कुल बीमा शुल्क आर्जन भने ३ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै, पुनर्बीमा कमिशन बापत निर्जीवन तर्फ ५९ करोड ५५ लाख र जीवन तर्फ १ करोड ६९ लाख रुपैयाँ कम्पनीले खर्च गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ कुल दावी भुक्तानी दिएको छ । तर, भुक्तानी हुन् बाँकी दावी रकम भने १ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ छ ।
कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीको निर्जीवन बीमा तर्फको जगेडा तथा कोषमा ५ अर्ब ८९ करोड १० लाख रुपैयाँ र जीवन तर्फ भने २८ करोड ७६ लाख ८७ हजार रुपैयाँ छ ।
कम्पनीको बीमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ छ । कम्पनी प्रतिसेयर आम्दानी २ रुपैइाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
गुणस्तरीय एवं प्रभावकारी सेवाका कारण जीवन तथा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा दलाल र अन्तरराष्ट्रिय पुनर्बीमकहरुको विश्वास हासिल गर्न सक्षम भएको कम्पनीले जनाएको छ । समिक्षा अवधिसम्मको पुनर्बीमा व्यसाय मुनाफामूलहक रहेको र आगामी दिनमा सबै कार्यक्षेत्रमा अझ् बढी सेवा विस्तार गर्दै जाने रणनीति कम्पनीले लिएको छ ।













