आइएमई लाइफ बन्यो प्रिमियम मूल्यमा आइपीओ ल्याउने पहिलो जीवन बीमा कम्पनी, बोर्डबाट पायो अनुमति
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रिमियम मूल्यमा आइपीओ निष्काशनका लागि अनुमति पाएको हो ।
योसंगै आइएमई लाइफले नेपाली बीमा क्षेत्रको पहिलो प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने कम्पनी बनेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीले जेठ २३ गते मंगलबार अनुमति दिएको हो ।
बोर्डको स्वीकृतिसंगै अब आइएमई लाइफले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापीटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
आइएमई लाइफले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा १८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । यस्तै, जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ । त्यसैगरि कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।













