आइएमई लाइफ: प्रिमियम मूल्यको आइपीओमा लगानी गर्दै हुनुहुन्छ ? आवेदन दिनुअघि एकपटक यो पढ्नुहोस् !
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण्का लागि आजदेखि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरी सकेको छ ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।
लगानीकर्ताले आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
कस्तो छ कम्पनीको अवस्था ? आइपीओ भर्नुअघि एक पटक हेरौं
आइपीओपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्ने
कम्पनीको अधिकृत पुँजी हाल ५ अर्ब रुपैयाँ र जारी पुँजी ४ अर्ब रुपैयाँ छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। आइपीओ बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ४ अर्ब नाघ्ने छ । आइपीओ निष्कासन पश्चात कम्पनीमा संस्थापक सेयरको हिस्सा ७० प्रतिशत हुनेछ भने साधारण सेयरको हिस्सा ३० प्रतिशत रहनेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजी ५ अर्ब हो, त्यो अनुसार कम्पनीले बोनस सेयर जारी गर्नेछ ।
कम्पनीको आइपीओले कति पाउँला ओपनिङ रेञ्ज ?
कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । यो आर्थिक वर्ष २०७८/७९ को वास्तविक वार्षिक तथ्याङ्क अनुसार हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ५३ पैसा रहेको छ । यसको आधारमा कम्पनीको आइपीओ पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसा निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।
लगानीकर्तालाई २५ प्रतिशत बोनस दिने सम्भावना !
आव २०७८/७९ को वास्तविक तथ्याङ्क अनुसार कम्पनीको जगेडा तथा संचित नाफा १ अर्ब ७ करोड १३ लाख ७९ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको यस्तो कोष तथा नाफा १ अर्ब २६ करोड १ लाख रुपैयाँ छ ।प्रिमिय र जगेडा कोषमा रहेको रकमका आधारमा भने कम्तीमा २५ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने क्षमता कम्पनीले राख्दछ ।
कम्पनीले आफ्ना लगानीकर्तालाई यस वर्ष नै सोही बराबरको हारहारीमा बोनस सेयर वितरण गर्न सक्ने देखिएको हो । जगेडामा कोषमा विगत ६ वर्षदेखि नै मुनाफा संचित हुँदै आएको छ । जसले आगामी वर्षमा पनि सेयरधनीहरुले आकर्षक लाभांश पाउने सम्भावना पनि छ ।
चालु आवको चैत मसान्तसम्म आईपुग्दा कम्पनीले १८ करोड २४ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा कम्पनीको जगेडा तथा कोषमा १ अर्ब १० करोड रुपैयाँ छ । यस्तै, कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ र महा विपत्ति जगेडामा १२ करोड २२ लाख रुपैयाँ छ ।
बिजनेश ग्रोथ पनि उत्तिकै खप्पिस आइएमई लाइफ
चालु आवको ११ महिनामा भने कम्पनीले कुल ३ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बढीको व्यवसाय गरेको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा कम्पनीले १ अर्ब १८ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ ।
यो पनि पढ्नुहोस्,
आइएमई लाइफ: दोहोरो अंकमा बिजनेश ग्रोथ, नयाँ व्यवासय भित्र्याउन पनि आक्रामक
जेठ मसान्तसम्ममा कम्पनी नविकरण मार्फत २ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । समिक्षा अवधिमा कम्पनीको कुल सक्रिय रहेको बीमालेखको संख्या ३ लाख ४ हजार १०० छ । जेठमा मात्रै कम्पनीले १२ हजार ९०७ वटा बीमालेख बिक्री गरि २९ करोड ५४ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । एक महिनामा कम्पनलिे १३ करोड १८ लाख रुपैयाँ बढीको नयाँ व्यवसाय पनि गरेको छ ।
कम्पनीले देशभर ८३ वटा शाखा कार्यालय र ५७ वटा उप–शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । साथै नेपाल बीमा प्राधिकरणबाट थप १ वटा शाखा कार्यालय र ८ वटा उप शाखा कार्यालय खोल्ने स्वीकृति प्राप्त भएको छ । यसका साथै निकट भविष्यमा उक्त शाखा/उपशाखा कार्यालयहरु खोली सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।













