९ श्रावण २०८३, शनिबार

नेपाल माइक्रो इन्स्योरेन्स पनि थाल्यो व्यवसायिक कारोबार



काठमाडौं । आजदेखि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पनि व्यवसायिक कारोबार सुरु गरेको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमालेख बिक्री गर्नेछ ।

सो कम्पनीको व्यवसायिक कारोबार नेपाल बीमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले औपचारिक उद्घाटन गरेका छन् । उद्घाटनपछि कार्यकारी निर्देशक पौडेलले गरिव, विपन्न र सिमान्तकृत वर्गलाई समेट्न गरि काम गर्न अनुरोध गरे । विशेषगरि ग्रामिण क्षेत्रमा बीमाको पहुँच वृद्धिमा विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।

हाल नेपालमा लघुबीमा कम्पनीको संख्या दुई वटा पुगेको छ । यसअघि कोशी प्रदेशको विराटनगरमा गार्डियन माइक्रो लाइफ इन्सयोरेन्सले व्यवसायिक कारोबार थालिसकेको छ ।

बीमा प्राधिकरणले लघुबीमा व्यवसाय संचालनका लागि हालसम्म चार वटा कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणले गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो । लाइसेन्स पाएका मध्ये अब क्रेष्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोले व्यवसायिक कारोबार गर्न बाँकी छन् । यी दुई कम्पनीले पनि कारोबार थालनीका लागि अन्तिम तयारीमा छन् ।

प्राधिकरणले मुलुकको सातै प्रदेशमा संचालन हुने गरि ७ वटा कम्पनीलाई लघुबीमा संचालनका लागि आशय पत्र दिएको थियो । आशयपत्र पाएका तीन वटा कम्पनीले भने अझै पुँजी जुटाउन सकेका छैनन् । लिवर्टी माइक्रो लाइफ, स्टार माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले पुँजी जुटाउन नसकेका हुन् ।


प्रतिक्रिया दिनुहोस्