७ श्रावण २०८३, बिहिबार

भगवती हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?



काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्काशन भएको आइपीओमा ६ करोड ६५ लाख ६४ हजार २८० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिन (साउन ७ गते) साँझ ५:०३ बजेसम्म २६ हजार ६२३ जना आवेदकले ५ लाख ७३ हजार ८३० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले असार २७ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । स्थानियहरुको लागि भने मिति थप गरेर साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गरेको हो ।

यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानियले भने साउन २२ गतेसम्म आवेदन दिन पाउनेछन् । स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्