४४.६६ प्रतिशतले बढ्यो ‘प्रभु महालक्ष्मी’ लाइफको नाफा, दोहोरो अंकमा बढ्यो व्यापार
काठमाडौं । हालसालै मर्जरमा गएका प्रभु महालक्ष्मी लाइफको नाफा उच्च वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले २ करोड २४ लाख रुपैयाँ बढी नाफा कमाएको छ ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १० करोड ५० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भने कम्पनीले ७ करोड २८ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३०.४० प्रतिशतले बढेर १ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ । हालसम्म भने कम्पनीले १३ अर्ब १६ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ३ लाख ५८ हजार ४६६ वटा बीमालेख जारी गरेको छ । गत वर्षमात्रै कम्पनीले ६४ हजार ४६५ वटा बीमालेख जारी गरेको छ ।
कम्पनीले १ अर्ब ४७ करोड ६ लाख ४२ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत वर्षमात्रै कम्पनीले ५६३ वटा दावीमा ९१ करोड ७३ लाख रुपैयाँ भुक्तानी दिएको हो । कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम भने १ करोड १८ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लगानी, कर्जा तथा अन्यबाट ३१ करोड ८० लाख १८ हजार, बीमालेख धितो कर्जाबाट ३ करोड ७२ लाख आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिसशनका लागि भने २८ करोड ३७ लाख रुपैयाँ र बीमितको स्वास्थ्य परिक्षणमा २० लाख ३३ हजार खर्चिएको छ । कर्मचारी बोनस व्यवस्थाका लागि कम्पनीले १ करोड १६ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ७४ करोड ७३ लाख ६ हजार रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषका आकार पनि १३८.५८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड ६१ लख ५५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ७ पैसा रहेको छ ।













