प्रभु इन्स्योरेन्सको नाफा २९.७६ प्रतिशतले बढ्यो: व्यापारमा पनि दोहोरो अंकको बढोत्तरी, अन्य सूचक कस्ता ?
काठमाडौं । गत वर्ष प्रभु इन्स्योरेन्स कम्पनीले २४ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले २४ करोड १५ लाख ३६ रुपैयाँ खुद नाफा कमाएको हो । जुन, अघिल्लो आवको तुलनामा भने २९.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १८ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन भने दोहोरो अंकले वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३३.२७ प्रतिशतले बढेर ६३ करोड ८१ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । कुल बीमा शुल्क आर्जन भने १ अर्ब ६५ करोड ८७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या भने १ लाख ८० हजार ६३० वटा छ ।
यस्तै, गत वर्ष कम्पनीले पुनर्बीमा कमिशनबाट १९ करोड ९ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा अभिकर्ता कमिशनका लागि कम्पनीले ३ करोड ३४ लाख ६३ हजार रुपैयाँ खर्चिएको छ ।
गत वर्ष कम्पनीले ६१ करोड ३९ लाख ७१ हजार रुपैयाँ कुल दावी भुक्तानी दिएको छ । कम्पनीले सो अवधिमा १८ हजार ७२८ वटा दावीमा भुक्तानी दिएको हो । समिक्षा अवधिमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम भने ६९ करोड १० लाख ५८ हजार रुपैयाँ देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २२ करोड ६४ लाख २३ हजार रुपैयाँ राखेको छ । कम्पनीको बीमा कोषको आकार पनि १३.१९ प्रतिशतले बढेर १ अर्ब ३ करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
















