२२ श्रावण २०८३, शुक्रबार

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको सेयर बजार सचेतना कार्यक्रम सम्पन्न



काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा सेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौँमा आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित सफल महिला लगानीकर्ताको रुपमा चिरपरिचत लगानीकर्ता दुर्गा तिवारी रिजालले विरुवामा पानी हालेर गरेका थिए । यस्तै गरी कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापाले व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सफल सेयर लगानीकर्ता दुर्गा तिवारीले सबै विद्यार्थीहरुलाई विशेष गरी महिलाहरुलाई सेयर बजारमा सहभागी हुन आग्रह गर्दै उनीहरुलाई आर्थिक रुपमा स्वतन्त्र हुन सुझाव दिए । यस्तैगरी कार्यक्रमका सभापति तथा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विद्यार्थीलगायत सबैलाई सानो सानो बचत गर्ने बानी बसाल्न र भविष्यका लागि लगानीमा ध्यान दिन आग्रह गर्दै आजको कार्यक्रमको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा शेयर बजार प्रशिक्षक सुवास भट्टराईले प्रभावकारी र रोचक तरिकाले २ घण्टा शेयर बजार सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकाल, कार्यक्रम संयोजक बलराम राई, सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्रोपर्टी विजार्ड प्रालिका कार्यकारी अध्यक्ष उद्धव शिवाकोटी, क्यापिटल म्याक्सका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठ, भोलेगणेश सेक्युरिटीजका जनरल म्यानेजर अञ्जिव तुलाधर, रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापा तथा बोर्ड सदस्य निदेशक नंदू प्रसाद कुशवाहाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रिलायन्स कलेजका १५८ विद्यार्थीहरू र १२ शिक्षकहरू लगायत अन्य ब्रोकर कम्पनीहरुको उपस्थिति रहेको थियो ।

डीबीएनका उपाध्यक्ष अतितलाल श्रेष्ठले निकट भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख्य मन्तव्य राख्दै आजको कार्यक्रमका सबै सरोकारवालाहरु महानुभावहरु, ब्रोकर पदाधिकारीहरु, कलेज व्यवस्थापन र विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रशिक्षण समापन गर्नुभएको थियो ।