माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिन मै २.५२ गुणा बढी माग
काठमाडौं । माथिल्लो मैलुङ खोलाले आइपीओमा पहिलो दिन मै २ लाख ८४ हजार ९६८ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात असोज १८ गते साँझ ५ः०७ बजेसम्म ३२ लाख ४७ हजार ५२० कित्ताका लागि आवेदन परेको हो । जस मार्फत ३२ करोड ४७ लाख ५२ हजार रुपैयाँ संकलन भएको छ । जुन माग भन्दा २.५२ गुणा बढी आवेदन हो ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । जसमध्य १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भइसकेको छ ।
यस्तै, ५५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँड भएको छ । त्यस्तै, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो । जसअनुसार १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधि भित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा कात्तिक २ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।













