१८ श्रावण २०८३, सोमबार

‘चेक बाउन्स’ किन डरलाग्दो रूपमा बढी रहेको छ ?



काठमाडौँ । भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यसलाई ‘चेक बाउन्स’ भनिन्छ । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेको खण्डमा चेक बाउन्स हुने गर्छ । पछिल्लो समय नेपालमा बढ्दै गएको आर्थिक अपराध हो ‘चेक बाउन्स’ । एउटै चेक धेरै पटक बाउन्स भएको खण्डमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ ।

नेपालमा चेक बाउन्सको मुद्दा वर्षेनि उच्च दरमा बढी रहेको छ । आर्थिक सङ्कटका कारण आम व्यवसायी सङ्घ संस्था तथा कम्पनी र व्यक्तिहरूले उधारो लगायतका दायित्व रकम भुक्तानी गर्न सकेका छैनन् । त्यसपछि नै बैङ्किङ कसुर सम्बन्धी मुद्दा बढ्न थालेको हो । अहिले बैङ्किङ कसुरमा चेक बाउन्सको मुद्दा नै बढ्दो क्रममा छ । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामै साढे दुई अर्ब बराबरको चेक बाउन्स भएको छ । गत साउन र भदौमा मात्रै चेक बाउन्सका २ हजार ५७२ वटा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार २ अर्ब ४८ करोड ६४ लाख ३८ हजार रुपैयाँ बिगोसहित मुद्दा दर्ता भएको हो । साउन र भदौमा चेक बाउन्स मुद्दामा ६३२ जना व्यक्ति पक्राउ परेका छन् । समीक्षा अवधिमा पक्राउ पर्नेमा ४८१ जना नेपाली नागरिक छन् भने १५१ जना विदेशी नागरिक हुन् । गत आर्थिक वर्षभर नै ४७ अर्ब ५० करोड २६ लाख रुपैयाँ बिगोसहित १२ हजार ३० वटा मुद्दा प्रहरीमा दर्ता भएको थियो । 

पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण नेपालमा चेक बाउन्स हुने क्रम ह्वात्तै बढेको प्रहरीले जनाएको छ । जसले बैंकिङ्ग कसुर अन्तर्गत उजुरी गर्नेको सङ्ख्या पनि बढाएको छ । आफ्नो व्यवसायी तथा व्यक्तिगत कारोबार मिलाउन कम्पनी तथा कम्पनीहरूले निश्चित मितिको चेक दिने गरेका छन् । तर, पछिल्लो समय व्यवसायमा आएको मन्दीका कारण कम्पनी तथा व्यक्तिहरूको उधारो तथा ऋण तिर्ने क्षमता घटेको छ । फलस्वरूप उनीहरूले दिएको चेक क्लिरेन्स (साटिन) सकेको छैन । त्यसपछि भुक्तानी पाउनुपर्ने व्यक्तिहरूले त्यसलाई बाउन्स गरेर कानुनी कारबाही प्रक्रियामा लैजाने गरेका छन् । फलस्वरूप यस्तो मुद्दा बढ्दै गएको प्रहरीको भनाइ छ ।

वार्षिक रूपमा डरलाग्दो रूपमा बढ्दै छ चेक बाउन्स, कुन वर्ष कति मुद्दा ?

नेपालमा चेक बाउन्सको मुद्दा वर्षेनि डरलाग्दो रूपमा बढी रहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा चेक बाउन्स सम्बन्धी ६२१ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा कुल १ अर्ब २१ करोड ५ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । त्यति बेला ३६५ जना स्वदेशी तथा विदेशी नागरिक चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । पक्राउ पर्ने मध्येमा २५५ जना पुरुष र ७२ जना स्वदेशी महिला, ३२ जना विदेशी पुरुष ६ जना महिला रहेका थिए ।

आव २०७५/७६ भने पनि चेक बाउन्सको मुद्दा झन्डै पौने पाँच गुणाले बढेको देखिएको छ । सो आवमा २ हजार ९६६ वटा चेक बाउन्स मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार आव २०७५/७६ मा १ अर्ब ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । चेक बाउन्समा १ हजार १४४ जना पक्राउ परेका थिए ।

यस्तै, आव २०७६/७७ मा भने चेक बाउन्सको मुद्दा ह्वात्तै बढेको देखिएको छ । सो आवमा ३ हजार २७५ वटा चेक बाउन्सका मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार सो आवमा २ अर्ब ६० करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । सो आवमा १ हजार १५० जना स्वदेशी तथा विदेशी नागरिक पक्राउ परेका थिए ।

त्यसैगरि आव २०७७/७८ मा भने चेक बाउन्सको मुद्दा घटेको देखिन्छ । यद्यपि, रकमका आधारमा भने २ अर्ब १२ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । सो आवमा कुल ९ जना स्वदेशी तथा विदेशी नागरिक चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।

गत आव २०७८/७९ मा पनि चेक बाउन्सको मुद्दा उल्लेख वृद्धि भएको थियो । सो आवमा ५ हजार ३७० वटा चेक बाउन्सको मुद्दा दर्ता भएका थिए । प्रहरीका अनुसार आव २०७८/७९ मा ६ अर्ब ७१ करोड ९२ लाख ५ हजार रुपैयाँ बढीको चेक बाउन्स भएको थियो । सो आवमा पक्राउ पर्नेको सङ्ख्या पनि धेरै नै देखिएको छ । प्रहरीका अनुसार १ हजार ४३ जना स्वदेशी तथा विदेशी नागरिक पक्राउ परेका थिए । 

गत आव २०७९/८० मा भने ४७ अर्ब ५० करोड २६ लाख रुपैयाँ बिगोसहित १२ हजार ३० वटा मुद्दा प्रहरीमा दर्ता भएको थियो । गत आवभर २ हजार ३४१ जना चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।