व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । काठमाडौंको जमल स्थित यल्लो प्यागोडामा प्रसाईंमाथि कालोमोसो दलिएको हो ।
कसले किन कालो मोसो दल्यो भन्ने खुलिसकेको छैन। उनलाई अज्ञात युवाको समूहले होटल अगाडि कालोमोसो दलेका हुन् ।
उक्त होटेलमा प्रसाईंले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सोही कार्यक्रम सकेर निस्कँदै गरेका प्रसाईंलाई अज्ञात युवा समूहले कालोमोसो दलेका हुन् ।
उनले पछिल्लो मारवाडी समुदायलाई अनेक लान्छाना लगाउँदै आएका थिए । अर्को तर्फ बैंक तथा वित्तीय संस्थाप्रति पनि विभिन्न आक्रोश पोख्दै नकरात्मक टिप्पणी गर्दै आएको थिए । उनले बैंकको ऋण नतिर्ने अभियानसम्म संचालन गर्दै आएका छन् ।
प्रसाईंले बैंक, लघुवित्त र सहकारीको चर्को ब्याज नियन्त्रण गर्नुपर्ने, ऋण मिनाहालगायत माग राखेर अभियानमा छन्। उनी संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि जस्ता एजेण्डा बोकेर हिडिरहेका छन् ।
प्रसाईंले खुला रुपमा मारवाडी समुदायलाई लगाउँदै आउको विभिन्न लान्छाना विरुद्ध समुदायले पनि आपत्ति जनाउँदै आएका थिए ।
केही समयअघिसम्म उनले बैंकका म्यानेजरहरुलाई कालो मोसो दल्ने अभियान चलाएका थिए । तर, सोमबार भने अज्ञात समूहले नै उनलाई कालो मोसो दलेका हुन् । तर, कसले कालोमोसो दल्यो भन्ने पत्ता नलागे पनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













