७ श्रावण २०८३, बिहिबार

निरन्तर बजार खुम्चिदा लगानीकर्ताको मनोबल कमजोर, किन आउन सकेन उत्साह ? 



काठमाडौँ । यो साता लगानीकर्ताको लागि निराशजनक गर्‍यो । बजार चार दिन राताम्य हुँदा एक दिन मात्र झिनो सुधार आयो । चौतर्फी आलोचना र दबाबपछि गत साताको बिहीबार (असोज १८ गते) नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन गरेको थियो । राष्ट्र बैङ्कले व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । नीतिगत फेरबदल गरी राष्ट्र बैङ्कले सीमा बढाए पनि सेयर लगानीकर्ताहरु खुसी देखिएनन् । यस्तो नीतिले सेयर बजार नकारात्मक प्रभाव पारेको छ ।

लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जामा लगाइएको क्याप हटाउन माग गर्दै आइरहेका थिए । उक्त कर्जामा लगाइएको क्याप हटाएपछि बजार सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरूले अनुमान लगाउँदै आएका थिए । तर, केन्द्रीय बैङ्कले सेयर धितो कर्जाको सीमा बढाएपछिको सेयर बजारले त्यसलाई रातो कार्पेटले स्वागत गर्‍यो । 

यो साता सेयर बजार ८२.३१ अकंले घट्यो । सेयर बजारको निरन्तर ओरालो यात्राले लगानीकर्ताको अर्बौ रकम गुम्यो । यस साता परिसूचक समेत पाँच महिना यता कै कम बिन्दुमा झर्‍यो । मङ्गलवार परिसूचक १८८९.५९ बिन्दुमा बन्द भएको छ । जुन पाँच महिना यता कै न्यून हो । गत साता बजार ४७.३७ अकंले घटेको थियो । 

यता, कारोबारमा समेत खुम्चिदैं गएको छ । यो साता ७ अर्ब ४ करोड ३७ लाख ९८ हजार ९५६ रुपैयाँको कारोबार भएको छ । गत साता भने ७ अर्ब ६ करोड ३३ लाख ५२ हजार ९६३ रुपैयाँको कारोबार भएको थियो । यो साता कारोबार १ अर्ब रुपैयाँको वरीपरि घुमेको छ । 

नेप्से निरन्तर ओरालो लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप कमजोर देखिएको छ । निरन्तर बजारले ओरालो यात्रा तय गरेपछि लगानीकर्ता चिन्तित भएका छन् । लगानीकर्ता छोटेलाल रौनियारले नियामकको नीतिगत कारण ४५ लाख लगानीकर्ता डिप्रेसन गएको बताएका छन् । सेयर लगानीकर्ताले बैङ्कको ब्याज तिर्न नसकेर घर जग्गा नै बेच्नु परेको उनले बताए । बजार घट्ने क्रम नरोकिएपछि लगानीकर्ता ‘पर्ख र हेर’को रहेका छन् ।  

नियामक निकायले विगतमा कसिएका नीतिहरु विस्तारै खुकुलो बनाउँदै जाने क्रम सुरु गरेको भए पनि सेयर बजारले त्यसलाई अझ रातो कार्पेट देखाएको पाइन्छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएपछि सेयर नेप्से २२ सय माथि पुगेको थियो । तर, अहिले उक्त सिमालाई थप बढाए पनि बजार १८ सय बिन्दुमा झर्न पुगेको छ । अझ, यति बेला लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयर किन्ने वा होल्ड गरेर राख्नेले केही समयमै लाभांश हात पार्न सक्छन् । यो बेला चहलपहल हुनुपर्ने समय हो । तर, बजारले घट्दा लगानीकर्ता निराश बनेका छन् । 

यता, ब्याजदर पनि घट्दो क्रम मै छ । अहिले सामाजिक सञ्जालमा सेयर बजारबारे भ्रम फैलिदा लगानीकर्ताको मनोबल कमजोर भएको एक जानकारले बर्ता । उनले भने, ‘अहिले बजारमा आवश्यकता भन्दा बढी नकारात्मक कुराको प्रचार प्रसार भइरहेको छ । सेयर बजार थप बिग्रिएको जस्तो गरी हल्लाखल्ला मच्याइएको छ । सोही कारण पनि लगानीकर्ताको मन खिन्न (कमजोर) बन्दै गएको हो ।’

आज (असोज २६ गते) मात्र लगानीकर्ताहरुले नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । यसले अझ बजारमा प्रभाव पर्ने देखिएको छ ।

‘असोज मसान्त लगानीकर्ता कर्जाको साँवा–ब्याज तिर्नुपर्ने अवस्था आएको छ बजार नबढ्दा घाटामा सेयर बिक्री गर्नु पर्ने समस्या पैदा भएको छ’ उनले भने,  ‘चाडबाडका लागि आवश्यक पैसाको जोहो गर्न पनि सेयर बेच्न पर्ने दबाब रहेको समेत लगानीकर्तामा रहेको छ ।’

लगानीकर्ता तुलसी राज ढकालले लगानीकर्तामैत्री नीति नहुँदा नै बजार बढ्न नसकेको उनको तर्क छ । उनी भन्छन्,–‘पुँजी बजार अहिले कोमा गएको छ  नियामकको गलत नीतिले लगानीकर्ता तर्सिएका छन् । धितो पत्र बोर्डले समेत लगानीकर्ताका मागलाई बहिष्कार गर्दै आएको छ ।’

धितोपत्र बोर्डले पनि पछिल्लो केही महिना यता निरन्तर हकप्रद र आइपीओको बाढी नै लगाएको छ । सप्लाई थपिएको थपिदैं छ भने डिमान्ड पक्ष निकै कमजोर देखिएको छ । जसका कारण सेयर बजारमा दबाब बढेको छ ।  

आम लगानीकर्ताले सकारात्मक रूपमा लिन सक्नुपर्ने जानकारहरू बताउँछन् । ठूला लगानीकर्ताहरुले खरिद नलाग्नु र नयाँ र साना लगानीकर्ता पनि हल्लाकै पछि लाग्नुका कारण सेयर बजार खुम्चि रहेको एक लगानीकर्ताले अर्थपथलाई जानकारी दिए । बैङ्कहरूले विस्तारै ब्याजदर घटाउन थालेका छन् । आम लगानीकर्तामा सकारात्मक हुनु जरुरी छ । नियामक निकाय समेत नीतिगत बाधा बिस्तारै खुकुलो बनाउँदै छ । यस कारण समेत सेयर बजार दीर्घकालीन रूपमा सुधार हुने नै देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्