सेयर धितो कर्जाको सीमा बढाउँदा पनि देखिएन बजारमा रौनक, के खोजिरहेका छन् लगानीकर्ता ? « Arthapath.com
२३ आश्विन २०८०, मंगलवार

सेयर धितो कर्जाको सीमा बढाउँदा पनि देखिएन बजारमा रौनक, के खोजिरहेका छन् लगानीकर्ता ?



काठमाडौँ । चौतर्फी आलोचना र दबाबपछि गत बिहीबार (असोज १८ गते) नेपाल राष्ट्र बैङ्कले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन गर्‍यो । अहिले राष्ट्र बैङ्कले सेयर धितो कर्जाको सीमा १२ बाट बढाएर १५ करोड रुपैयाँ पुर्‍याएको छ ।

केन्द्रीय बैङ्कले हाल व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । नीतिगत फेरबदल गरी राष्ट्र बैङ्कले सीमा बढाए पनि सेयर लगानीकर्ताहरू खुसी देखिएका छैनन् । सेयर धितो कर्जाको सीमा हटाएपछि सेयरमा उछाल आउने अपेक्षा थियो । तर, राष्ट्र बैङ्कको सर्कुलर पछि सेयर बजार लगातार तेस्रो दिनसम्म पनि बजारले ओरालो  यात्रा छोडेन । अर्थात् गत आइतबारदेखि मङ्गलवारसम्म बजार पुरै राताम्य हुन पुगेको छ । लगानीकर्ता बेखुस नै देखिए । 

लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जामा लगाइएको क्याप हटाउन माग गर्दै आइरहेका थिए । उक्त कर्जामा लगाइएको क्याप हटाएपछि बजार सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरूले अनुमान लगाउँदै आएका थिए । तर, केन्द्रीय बैङ्कले सेयर धितो कर्जाको सीमा बढाएपछिको तीन कारोबार दिनै बजार राताम्य हुन पुगेको छ । सो अवधिमा बजार ६७.३१ अङ्कले घटेको छ । 

बजारसँगै परिसूचक पनि निरन्तर खुम्चिदैं आएको छ । बजार परिसूचक आज (असोज २३ गते) १८८९.५९ बिन्दुमा झरेको छ । नेप्से परिसूचक करिब चार महिनाअघि कै बिन्दुमा पुगेको हो । 

अझ, यति बेला लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयर किन्ने वा होल्ड गरेर राख्नेले केही समयमै लाभांश हात पार्न सक्छन् । यो बेला चहलपहल हुनुपर्ने समय हो । तर, बजारले घट्दा लगानीकर्ता निराश बनेका छन् । निरन्तर बजार घटेपछि साना तथा ठुला लगानीकर्ता निराश बनेका छन् । यति बेला उनीहरूको मनोबल समेत कमजोर अवस्था पुगेको देखिन्छ । यसरी बजार घट्नुमा लगानीकर्ताहरूको सङ्गठनहरूले भने नियामकलाई दोष दिइरहेका छन् ।

नियामक निकायले लगानीकर्ताको नीतिगत रूपमा अभिभावकत्व ग्रहण नगर्दा नै बजारमा नकारात्मक प्रभाव पारेको उनीहरूको भनाई छ । विषेषगरि उनीहरूले निकै लामो समयदेखि सेयर धितो कर्जाको सीमा हटाउन र  भारित १५० बाट १०० प्रतिशत कायम गर्न माग गर्दै आएको थिए ।

यद्यपि, केन्द्रीय बैङ्कले सेयर कर्जाको सीमा परिवर्तन गरे पनि हाल कायम रहेको भारित औसत १५० बाट १०० प्रतिशत कायम गरेको छ, यसमा कुनै पनि परिवर्तन गरेको छैन । यसले नै लगानीकर्ता उत्साहित बन्न नसकेको सेयर लगानीकर्ता छोटेलाल रौनियारले बताए । नियामक निकायले लगानीकर्ताको कुरा नसुनेको उनको भनाई छ । उनले भने,– ‘राष्ट्र बैङ्कका गभर्नरले लगानीकर्ताको कुरा सुनेनन् । सेयर धितो कर्जाको नीति परिमार्जनले लगानीकर्तालाई जिस्काउने काम गरेको छ । आफ्नो गोजीबाट दिए जस्तो १५ करोड र २० करोड पुर्‍यायो ।’

लगानीकर्ताहरूले सामाजिक सञ्जालका माध्यमदेखि सार्वजनिक कार्यक्रमसम्ममा नियामक निकाय बजार र लगानीकर्तामैत्री नभएको बताउँदै आएका छन् । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममै लगानीकर्ताहरूले  नियामकका कारण नै बजारले ओरालो यात्रा तय गरेको भनेका थिए । 

यता, नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले पनि राष्ट्र बैङ्कले सेयर कर्जाको सीमा बढाएता पनि लगानीकर्ताको मनोबल बढाउन नसकेको बताइन् । उनले नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउने गर्दा आम लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै गइरहेको बताइन् । नेपाल राष्ट्र बैङ्कले खर्बौँको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गरेको बताइन् । राष्ट्र बैङ्कले बढाएको सेयर धितो कर्जाको सीमा बढाए पनि लगानीकर्ता उत्साह नबढेको बताइन् । राष्ट्र बैङ्कको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौँको बजारसँग लंगुर्बुर्जाको जस्तो व्यवहार गर्ने गरेको उनले बताइन् ।

नेपालको सेयर बजार टुकटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउने गर्दा आम लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको उनको तर्क छ । उनले भनिन्,–‘राष्ट्र बैङ्कको नीतिको मारमा रहेको सेयर बजारमा कतिपय बजार विरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा परेका लगानीकर्ता चारैतिरबाट थिचोमिचो पारिएको छ । ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छन् ।’ 

बजार बढाउनलाई नियामक निकाय सक्रिय हुनुपर्ने ठाउँमा मुख दर्शक भएको उनले दाबी गरिन् । ‘सेयर कर्जाको सीमा बढाउँदा पनि लगानीकर्तामा उत्साह छैन  । अब नियामक सक्रिय भए मात्र बजारले गति लिन्छ । लगानीकर्ताको मनोबल बढाउन आवश्यक छ’–उनले भनिन् । 

यता, अर्का लगानीकर्ता तुलसी राज ढकालले पनिले बजार घट्नुमा नियामकै दोष रहेको बताए ।  लगानीकर्तामैत्री नीति नहुँदा नै बजार बढ्न नसकेको उनको तर्क छ । उनी भन्छन्,–‘पुँजी बजार अहिले कोमा गएको छ  नियामकको गलत नीतिले लगानीकर्ता तर्सिएका छन् । धितो पत्र बोर्डले समेत लगानीकर्ताका मागलाई बहिष्कार गर्दै आएको छ ।’

नियामक निकायकै बेवास्ताले लगानीकर्ताको अर्बौँ रुपैयाँ डुबेको उनको भनाई छ । सुस्ताएको अर्थतन्त्रलाई सेयर बजार सुधार गरेमा मात्रै चलायमान बनाउन सकिने उनको तर्क छ । उनले भने,–‘अहिले व्यापार व्यवसाय थप्प छ । अर्थतन्त्र थप्प भएको बेला सरकारले सेयर बजारमा समेत ध्यान दिएन । सेयर बजार घट्दा राजस्वमा समेत गिरावट आएको छ । बजारलाई सुधार गरे मात्रै अर्थतन्त्र चलायमान हुन्छ ।’

यस्तै, लगानीकर्ता रोहन कार्कीले पनि नियामक निकायले बेवास्ता गर्दा नै बजार धराशायी बन्दै गएको बताए । बजारप्रति नियामक सकारात्मक नभएको उनको भनाई छ । ‘सेयर बजार बारे नियामक निकायले बेवास्ता गर्दा नै बजार धराशायी बन्दै गएको छ । यति बेला बजार निकै अप्ठ्यारो अवस्थामा छ । नियामकले लगानीकर्तालाई हेलाको दृष्टिले हेर्छ’–कार्कीले भने । 

यता, अर्का लगानीकर्ता तारा फुल्लेल पनि नियामक निकायले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै आएको बताउँछन् । उनी भन्छन्,–‘बजारलाई सुधार्न भन्दा लगानीकर्ताको मनोबल गिराउन नियामक सक्रिय देखिन्छ । नियामकले आफ्नो सीमा भन्दा बाहिर आएर दिएको अभिव्यक्तिका कारण पनि बजार धराशायी अवस्था पुग्यो ।’ यति बेला नियामक गम्भीर रूपमा बजारलाई सकारात्मक बाटो तर्फ लैजान नीति लिनुपर्ने उनको भनाई । 


प्रतिक्रिया दिनुहोस्