ह्याम्सको विशेषज्ञ टोलीद्वारा मेडिकल स्कर्टिङ गरि पाइलट सेढाईंको थप उपचारका लागि भारत लगियो
काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ ।
श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ । उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले मेडिकल स्कर्टिङ गरेका थिए ।
आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा. इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।
गम्भीर घाइते सेढाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा. निशान्त ढकाल, डा. सन्तोष न्यौपाने, डा. राम कृष्ण बुढाथोकी, प्लास्टिक सर्जन डा. कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बली जंग शाहीले उपचार गरेका थिए ।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको बिज्ञप्तिमा उल्लेख छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।













