२९ कार्तिक २०८३, आइतबार

मंसिर ७ गतेदेखि जनकपुर अयोध्या रेल सञ्चालन हुँदै, बालेन र मोदीले उद्घाटन गर्ने



काठमाडौं। नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार कनेक्टिभिटीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म साप्ताहिक रेल सेवा सञ्चालनमा आउने भएको छ ।

भारतीय रेल्वेले उत्तर प्रदेशको अयोध्या र नेपालको मधेस प्रदेशको जनकपुरधामलाई सीधा रेल सञ्जालमा जोड्ने गरी साप्ताहिक रेल सेवा सञ्चालनको अनुमति प्रदान गरेको हो ।

बालेन र मोदीले उद्घाटन गर्ने तयारी

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी मंसिर ७ गते नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा हरियो झण्डा देखाएर उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी छ ।

उद्घाटनको पहिलो रेल अयोध्या धामबाट छुट्नेछ । नियमित व्यावसायिक सेवा भने अयोध्या क्यान्टबाट सञ्चालन हुने बताइएको छ।

जनकपुरधामदेखि अयोध्यासम्मको करिब ६०४ किलोमिटर लामो दूरी तय गर्ने यो रेल हप्ताको एक दिन मात्र सञ्चालन हुनेछ । भारतीय रेल मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ ।

जनकपुरधामबाट छुटेको रेल जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसन हुँदै अयोध्या पुग्नेछ । रेलका टर्मिनल स्टेसनबाहेक यी १० स्थानमा यात्रु चढाउन र ओराल्न व्यावसायिक स्टपेज रहने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

धार्मिक पर्यटनदेखि व्यापारसम्म लाभ पुग्ने अपेक्षा

साप्ताहिक रेल सेवा सञ्चालनमा आएसँगै सीमा वारपार गर्ने यात्रु, पर्यटक तथा तीर्थयात्रीहरूको आवागमन निकै सहज हुने भारतीय रेल मन्त्रालयले जनाएको छ। विशेषगरी भगवान् राम र माता सीतासँग जोडिएका ऐतिहासिक तथा धार्मिक स्थलहरूको दर्शन गर्न चाहने दुवै देशका श्रद्धालुहरूका लागि यो सेवा वरदान साबित हुने अपेक्षा गरिएको छ।

यस रेल सञ्जालले नेपाल र भारतबीचको सदियौंदेखि रहँदै आएको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै क्षेत्रीय व्यापार, आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।