कोप–३१ मा नेपालको जलवायु एजेन्डा प्रस्तुत गरेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
काठमाडौं। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्।
तुर्किएमा आयोजित उक्त सम्मेलनमा उनले जलवायु वित्त, विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलतासम्बन्धी विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाएका थिए।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले ४४ अतिकम विकसित मुलुकहरूको प्रतिनिधित्व गर्दै जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादमा आफ्नो धारणा राखे। साथै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई नयाँ सदस्यका रूपमा आबद्ध गराउँदै जलवायु उत्थानशीलता अभिवृद्धिका लागि वित्तीय स्रोत परिचालनसम्बन्धी नीतिगत अवधारणा प्रस्तुत गरे।
अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्रीले बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली तथा जी–२० को आगामी अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँग पनि भेटवार्ता गरेका थिए। विपद्पछिको ऋण व्यवस्थापन र ऋणमोचनको अन्तर्राष्ट्रिय पहलसँग सम्बन्धित विषयमा भएको छलफलमा उनीहरूले साझा अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैगरी, कोप–३१ मा नेपालले उठाएका जलवायु एजेन्डालाई अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले पाँच प्रभावशाली जलवायु प्रतिनिधिसँग अर्थमन्त्रीको छलफल भएको थियो। उक्त छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर तथा संयुक्त राष्ट्रसंघका महासचिवका जलवायु दूत सेल्विन हार्ट सहभागी थिए।
अर्थमन्त्री वाग्लेले हरित जलवायु कोषका उच्च अधिकारीहरूसँग आगामी कार्यक्रम तथा सम्भावित सहकार्यका विषयमा पनि विचारविमर्श गरेका थिए।
त्यसैगरी, जेनेभास्थित विश्व मौसम विज्ञान संगठनअन्तर्गत सञ्चालित जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालले उक्त कार्यक्रमबाट प्राप्त गर्न सक्ने लाभका विषयमा धारणा राखे।
जलवायु विज्ञान तथा अर्थशास्त्रका अन्तर्राष्ट्रिय विज्ञ प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकलस स्टर्नसँग पनि उनले भेटघाट गरेका थिए। सम्मेलनकै क्रममा अर्थमन्त्रीले अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता समेत दिएका थिए।
यसका अतिरिक्त, सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु परिवर्तनका क्षेत्रमा प्रभाव पार्ने विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सम्मानमा आयोजित कार्यक्रममा समेत अर्थमन्त्री वाग्ले सहभागी भएका थिए।















