कसरी नोक्सानीमा पुग्यो बरुण हाइड्रोपावर ?
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी २ करोड बढी नोक्सानीमा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आथिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवको पहिलो त्रैमासमा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यस वर्षको असोज मसान्तसम्ममा भने कम्पनी २ करोड ९ लाख ७२ हजार रुपैयाँ नोक्सानी रहेको छ ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी नभएपछि नै नोक्सानी व्यहोरेको हो । कम्पनीले हेवा खोला साना जलविद्युत आयोजना संचालन गरिरेहेको छ । सो आयोजना गत असारमा गएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ । त्यसपछि विद्युत उत्पादन हुन सकिरहेको छैन । यसकारण नै कम्पनीले नोक्सानी व्योहोरेको हो ।
गत आवको पहिलो त्रैमासमा भने कम्पनीले ३ करोड २४ लाख ४९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेको थियो । गत वर्षभर भने विद्युत बिक्री गरि कुल ७ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि १ करोड १० लाख ९१ हजार रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । सेयर प्रिमियम ४ करोड ३७ लाख र रिटेन्ड अर्निङ्ग ८ लाख ९२ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक छ । यस्तै, प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ २५ पैसा रहेको छ ।













