१७ श्रावण २०८३, आइतबार

बढ्न थाल्यो सेयर धितो कर्जा, एकाएक कसरी देखियो बढोत्तरी ?



काठमाडौं । पछिल्लो समय सेयर धितो कर्जा बढ्न थालेको छ । तीन महिनामा सेयर धितो कर्जा ८१ अर्ब १ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत असार मसान्तसम्ममा सेयर धितो कर्जा प्रवाह ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको थियो । तर, तीन महिनामै अर्थात् चालु आवको असोज मसान्तसम्म आइपुग्दा भने ६.२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा यस्तो कर्जा प्रवाह ४ अर्ब ७० करोड ९३ लाख रुपैयाँले बढेर ८१ अर्ब पार गरेको हो ।

बैङ्कहरूको ब्याजदर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह पनि वृद्धि भएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ । प्रणालीमा तरलता सहज भएपछि बैङ्कहरूको ब्याजदर घट्दै गएको छ । ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह भने बढ्दै गएको हो ।

विशेषगरि २५ लाखदेखि ५० हजार रुपैयाँसम्मको सेयर धितो कर्जा बढेको हो । चालु आवको तीन महिनामा २५ लाखदेखि ५० रुपैयाँसम्मको सेयर धितो कर्जा लिने दोहोरो अङ्कले बढेका हुन् । गत असार मसान्तसम्ममा यस्तो कर्जा १२ अर्ब ७८ करोड १० लाख रुपैयाँ प्रवाह भएको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने २५ लाखदेखि ५० लाखसम्म सेयर धितो कर्जा ११ प्रतिशतले बढेको हो । असोज मसान्तसम्ममा भने थप १ अर्ब ४० करोड ६० लाख रुपैयाँले बढेर यस्तो सीमाको कर्जा १४ अर्ब १८ करोड ७० लाख माथि पुगेको छ ।

पछिल्लो समय केन्द्रीय बैङ्कले सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । एकीकृत निर्देशन जारी गर्दै एकल व्यक्ति तर्फको सीमा १५ करोड रुपैयाँ र संस्थागत तर्फको सीमा २० करोड रुपैयाँ पुर्‍याएको छ । यस्तो नीतिगत सहजताका कारण पनि सेयर कर्जा बढेको हो ।

यस्तै, २५ लाख रुपैयाँभन्दा कम सेयर धितो कर्जा लिने पनि ५.२ प्रतिशतले बढेका छन् । गत असार मसान्तसम्ममा यस्तो सीमामा कुल ७ अर्ब ३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने बढेर ७ अर्ब १५ करोड ५० लाख नाघेको छ ।

राष्ट्र बैङ्कका अनुसार १ करोडभन्दा माथि कर्जा लिनेको सङ्ख्यामा पनि सुधार देखिएको छ । गत असार मसान्तसम्ममा यस्तो सीमामा कुल ४४ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, तीन महिनामै ७.२ प्रतिशतले बढेर ४७ अर्ब ९५ करोड ५० लाख रुपैयाँ कटेको छ ।

नियामक निकाय राष्ट्र बैङ्कले मौद्रिक नीतिमा ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरेको छ । केन्द्रीय बैङ्कको यो व्यवस्थाले नै ५० लाखसम्मको सेयर धितो कर्जा लिने लगानीकर्ता बढेका हुन् । केन्द्रीय बैङ्कले गत आवको मौद्रिक नीतिबाट सेयर धितो कर्जामा व्यक्तिगत सीमा अधिकतम १२ करोड र एउटा बैङ्कबाट ४ करोड रुपैयाँको सीमा तोकेको थियो । तर, चालु आवको नीति मार्फत भने लचकता अपनाई ४ करोडको सीमा हटाएको छ । उक्त सीमा हटाएपछि अब एउटै बैङ्कबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था लागू भएको छ ।

नियामकले अपनाएको नीतिगत लचकताले नै सेयर धितो कर्जा बढेको जानकारवालाहरु बताउँछन् । विशेषगरि बैङ्कहरूको ब्याजदर सस्तिएका कारण पनि यस्तो कर्जा बढेको बताइन्छ । हाल अधिकांश बैङ्कहरूको निक्षेपको ब्याजदर पनि एकल अङ्कमा झरेको छ । बैङ्कहरूको आधार दर पनि घट्दो क्रममा छ । बैङ्कहरूको आधार दर घटेपछि कर्जाको ब्याजदर पनि सस्तो हुने गर्दछ । कर्जाको ब्याजदर घटेपछि नै सेयर धितो राखेर ऋण लिने लगानीकर्ता बढेको जानकारवालाहरु बताउँछन् ।

यता, सेयर बजारमा वियरिस चक्रमा छ । यो समय पनि निकै लामो भइसकेको छ । अब बिस्तारै यस्तो ट्रेन्ड परिवर्तन हुने लगानीकर्ताहरूको अपेक्षा छ । जसका कारण पनि बजार घट्दा पनि कर्जा लिन आकर्षित भएको अनुमान समेत गरिएको छ।

राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा कुल सेयर धितो कर्जा प्रवाह ७६ अर्ब ४१ करोड २० लाख माथि थियो । यस्तै, गत भदौ मसान्तसम्म भने थप १ अर्ब २७ करोड ५० लाख रुपैयाँले बढे ७७ अर्ब ६८ करोड ७० लाख माथि पुगेको थियो ।