१७ श्रावण २०८३, आइतबार

‘घर-जग्गा’ व्यापारमा किन लाग्यो ब्रेक ? कारोबार घट्दा राजश्वमा धक्का



काठमाडौँ । घर जग्गा कारोबारमा सङ्कुचन आएको छ । असोज महिनामा केही सुधार देखिए पनि कात्तिकमा भने यस्तो कारोबार घटेको हो । असोजको तुलनामा साढे १३ बढीले घर जग्गा किनबेच घटेको देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत असोजमा देशभर ३९ हजार ८८१ वटा घर जग्गा किनबेच भएको थियो । तर, कात्तिकमा भने २६ हजार ४६ वटा मात्रै किनबेच भएको विभागले जनाएको छ । जुन असोजको तुलनामा ३४.६९ प्रतिशत अर्थात् १३ हजार ८३५ वटाले कमी हो ।

गत आवको असोज मसान्तसम्ममा पनि देशभर २७ हजार ९३९ वटा घर जग्गा किनबेच भएको थियो । सो अवधिको तुलनामा पनि ६.७७ प्रतिशतले कमी हो । अर्थात् गत वर्षको कात्तिकमा भन्दा यस वर्षको सोही अवधिमा १ हजार ८९३ ले कमी हो ।

सरकारले अर्थतन्त्र खुम्चिँदै गएको भन्दै गत साउनदेखि कित्ताकाट खुलाउने निर्णय गरेको छ । सरकारले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । सो निर्णयसँगै घर जग्गा कारोबारले गति लिने बताइएको थियो । घर जग्गा कारोबारका लागि सहज वातावरण सृजना हुँदा पनि सङ्कुचन आएको हो । अझै पनि सहज रूपमा कित्ताकाट हुन नसक्दा पनि घर जग्गा व्यापार नबढेको बताइन्छ ।

यद्यपि, कात्तिकमा चाडपर्वले गर्दा पनि यसको कारोबार प्रभावित भएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अधिकारी बताउँछन् । ‘कात्तिकमा दसैँ, तिहार लगायतका चाडपर्वले पनि घर जग्गा व्यापार केही घटेको हो । यो बिचमा लामो बिदा हुने भएकाले पनि कारोबार प्रभावित भएको देखिन्छ’–ती अधिकारीले भने ।

मङ्सिरमा भने कारोबारले गति लिने उनले बताए । कित्ताकाट खुलाउने निर्णय, बैङ्क ब्याजदर पनि घट्दै जानु र नेपाल भित्रने रेमिट्यान्स पनि लगातार बढ्नु जस्ता कारणले पनि आगामी दिनमा घर जग्गा व्यापारले गति लिने उनको तर्क छ । उनले भने,–‘नेपालमा दसैँ तिहार लगायतका चाडपर्वहरूको सिजन चलिरहेको छ । यसले कारोबारमा केही प्रभावित बन्यो । तर, अब बिस्तारै कित्ताकाटको परिणाम पनि देखिन्छ। आगामी दिन कारोबार बढ्छ । बैङ्कहरूमा पनि लगानीयोग्य रकम बढी रहेको छ । अर्को तर्फ कर्जाको ब्याजदर पनि घट्दो अवस्थामा छ। यसको सकारात्मक प्रभाव घर जग्गा कारोबार देखिनेछ ।’

कारोबारमा आएको गिरावटले राजश्व पनि प्रभावित, एक महिनामै झन्डै २ अर्बले घट्यो

कात्तिकमा घर जग्गा कारोबारमा आएको गिरावटले त्यसबापत सङ्कलन हुने राजश्व पनि प्रभावित बनेको छ । गत असोज महिनामा भएको घर जग्गा कारोबारबाट सरकारले ४ अर्ब ८ करोड ६६ लाख २९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । तर, कात्तिकमा भने ४७.०५ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड २७ लाख ६१ हजार रुपैयाँले घटेको छ । कात्तिकमा देशभर भएको कारोबार बाट जम्मा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार रुपैयाँ राजश्व उठेको छ ।

कात्तिकमा महिनामा घर जग्गाको सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । सो कार्यालय मार्फत कात्तिकमा १ हजार १८२ वटा घर जग्गा किनबेच भएको छ । यस्तै, दोस्रो स्थानमा रहेको मालपोत कार्यालय जनकपुरधाम धनुषाबाट भने १ हजार १०७ वटा किनबेच भएको छ । यस्तै, भद्रपुर कार्यालय झापाबाट १ हजार ११ वटा, राजविराज सप्तरीबाट ८९५ वटा घर जग्गा किनबेच भएको विभागले जनाएको छ।

कारोबारमा यी जिल्लाहरू देखिएता पनि राजश्व सङ्कलनमा भने काठमाडौँ उपत्यका भित्रका मालपोत कार्यालयहरू अघि देखिएका छन् । उपत्यकामा महँगोमा घर जग्गा खरिदबिक्री हुने भएकाले नै राजश्व पनि बढी उठ्ने गरेको छ ।

कात्तिकमा सबैभन्दा धेरै राजश्व लगनखेल मालपोत कार्यालय मार्फत उठेको छ । सो कार्यालयबाट १८ करोड ९४ लाख १५ हजार रुपैयाँ राजश्व सरकारले प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको डिल्लीबजार मालपोत कार्यालयले १८ करोड १५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यस्तै, भक्तपुरले १४ करोड २६ लाख, चाबहिलले १३ करोड १८ लाख र कलङ्कीले १२ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यी बाहेक देशभरका अन्य मालपोत कार्यालयहरू मार्फत सङ्कलन हुने राजश्व १० करोड रुपैयाँ भन्दा कम छ ।

विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् साउनमा देशभर भएको घर जग्गा किनबेचबाट राज्यले २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो । यस्तै, गत भदौमा पनि ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।