१७ श्रावण २०८३, आइतबार

‘लकइन’ खुल्नु भन्दा ३० दिनअघि नै जानकारी गराउन सूचीकृत कम्पनीलाई बोर्डको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित कम्पनीहरुलाई लकइनमा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता तथा सम्वन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको छ ।

बोर्डले सूचीकृत कम्पनीको संस्थापक तथा अन्य समूहको सेयरको लकइन अवधि सम्वन्धी व्यवस्था रहेकोमा त्यसलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेप्से, सिडिएस एण्ड क्लियरिङ्ग र सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको हो ।

सूचीकृत कम्पनीले ‘लकइन’मा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सम्वन्धित सरोकारवालाई सूचना जारी गरेर जानकार गराउन बोर्डले निर्देशन दिएको छ । ‘सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको सेयरको बिक्री गर्न नपाईने गरि तोकिएको लकइन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्वन्ध्ति सबै सरोकारवालालाई जानकारी गराउनसेयर लकइनमा रहेको वर्ग (जस्तै: संस्थापक, स्थानीय प्रभावित आदि), लकइनमा रहेको कुल सेयर संख्या, लकइन अवधिमा समाप्त हुने समेत स्पष्टरुपमा खुलाई सार्वजनिक जानकारी सूचना प्रकाशन गर्नुपर्नेछ’ बोर्डले जारी गरेको निर्देशनमा भनिएको छ।

यसको जानकारी बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङलाई पनि उपलब्ध गराउनुपर्ने छ । यस्तै, सो सम्वन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधि समाप्तपछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरि कम्पनीले वेवसाइटमा पनि राख्नुपर्नेछ ।