भारतमा प्रतियुनिट २६ रुपैयाँसम्ममा बिजुली किनबेच हुँदा नेपालले भने सस्तैमा बेच्नुपरेको बाध्यता
भारतका राज्यहरूबीच प्रतियुनिट २६ रुपैयाँभन्दा बढीमा बिजुलीको कारोबार भइरहे पनि नेपालले भने वर्षायामको अतिरिक्त ऊर्जा औसत ६ देखि ७ रुपैयाँमै बेच्नुपरेको छ।
काठमाडाैँ । छिमेकी मुलुक भारतभित्रै एउटा राज्यले अर्को राज्यसँग प्रतियुनिट २६ रुपैयाँभन्दा बढीमा विद्युत् खरीद–विक्री गरिरहँदा नेपालले भने वर्षायामको अतिरिक्त बिजुली औसत ६ देखि ७ रुपैयाँमै विक्री गर्नुपरेको छ।
भारतमा विद्युत्को माग र मूल्य दुवै तीव्र रूपले बढिरहेका बेला नेपालले उच्च मूल्य पाउन सक्ने फराकिलो बजारको खोजी गर्न नसकेको भन्दै ऊर्जा उद्यमीहरूले निर्यात रणनीतिमाथि गम्भीर पुनरवलोकन गर्नुपर्ने बताएका छन्।
हालै राजस्थान विद्युत् नियामक आयोगले आगामी हिउँदमा विद्युत् अभाव हुन नदिन हिमाचल प्रदेशबाट १ हजार ३०० मेगावाट विद्युत् प्रतियुनिट भारु १६.६२ अर्थात नेपाली २६ रुपैयाँ ५९ पैसामा खरीद गर्न राजस्थान वितरण कम्पनीलाई अनुमति दिएको छ। भारतका दुई राज्यबीच पाँच वर्षका लागि भएको मध्यमकालीन विद्युत् खरीद सम्झौताअन्तर्गत यो दर कायम गरिएको हो।
भारतभित्रै विद्युत् अभावका बेला यति महँगो दरमा कारोबार भइरहँदा नेपालले भने वर्षायाममा आफ्नो अतिरिक्त बिजुली तुलनात्मक रूपमा निकै सस्तो मूल्यमा विक्री गरिरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा भारतमा ठूलो बजार र उच्च मूल्यको विशाल सम्भावना हुँदाहुँदै पनि नेपालले त्यसको उचित लाभ लिन नसकेको बताउँछन्। उनी नेपाल विद्युत् प्राधिकरण डे–अहेड मार्केट र सीमित सरकारी संयन्त्रमार्फत हुने कारोबारमा मात्रै बढी निर्भर रहेको औंल्याउँछन्।
भारतका विभिन्न राज्य र वितरण कम्पनीसँग दीर्घकालीन द्विपक्षीय विद्युत् खरीद सम्झौता गर्ने पहल पर्याप्त हुन नसकेको उनको बुझाइ छ। भारतको साढे चार लाख मेगावाटभन्दा ठूलो राष्ट्रिय ग्रिडमा नेपालको वर्षायामको बिजुली सानो अंश मात्र भएकाले नदी प्रवाहमा आधारित आयोजनाको उत्पादन उनीहरूका लागि निकै उपयोगी हुन सक्ने उद्यमीहरूको तर्क छ।
भारतमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि ब्याट्री भण्डारण, पम्प स्टोरेज तथा महँगा ग्यास प्लान्टसमेत सञ्चालन गर्ने गरिएको छ। राजस्थानले पिक डिमान्ड व्यवस्थापनका लागि ढोलपुर ग्यास प्लान्टबाट प्रतियुनिट भारु ४६ अर्थात नेपाली ७३ रुपैयाँभन्दा बढी लागतमा विद्युत् उत्पादन गरिरहेको उदाहरण पनि छ।
यस्तो अवस्थामा नेपालको जलविद्युत् भारतीय बजारका लागि तुलनात्मक रूपमा सुरक्षित र सस्तो विकल्प बन्न सक्थ्यो।
विगतमा नेपालले ३ अर्ब ८७ करोडभन्दा बढी युनिट बिजुली निर्यात गरेर राम्रै आम्दानी गरे पनि औसत मूल्य ७ रुपैयाँ ५६ पैसाको हाराहारीमा मात्रै सीमित रहेको छ। भारतसँगको द्विपक्षीय सम्झौतामा केही सुधार देखिए पनि भारतीय ऊर्जा एक्सचेन्जको प्रतिस्पर्धी बजारमा मूल्यमा ठूलो उतारचढाव आउने गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ आगामी वर्षको वर्षायाममा विद्युत् विक्री गर्न अहिलेबाटै बजारमा प्रस्ताव माग्ने प्रक्रिया अघि बढाइने र खुला प्रतिस्पर्धाबाट बढी मूल्य दिनेलाई प्राथमिकता दिने बताउँछन्।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मनोज सिलवाल भारतको विद्युत् बजारमा मूल्य उकालो लाग्दै गर्दा नेपालले त्यसको लाभ लिन बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने स्पष्ट पार्छन्। भारतका दुई राज्यबीच भएको हिमाचल प्रदेशको खरीद सम्झौता र नेपालको डे–अहेड बजारमार्फत हुने विक्रीलाई एउटै आधारमा तुलना गर्न नमिल्ने उनको तर्क छ।
राजस्थानले गरेको खरीद पाँच वर्षको मध्यमकालीन सम्झौता हो भने डे–अहेड बजारमा एक दिनअघिको माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुन्छ।
जानकारहरूका अनुसार इरान–इजरायल तथा रुस–युक्रेन द्वन्द्वका कारण ग्यास र कोइलाको आपूर्ति चक्र प्रभावित हुँदा विद्युत्को अस्थायी मूल्य निकै उच्च पुग्ने गरेको छ। भारतमा उत्पादन हुने विद्युत्को ठूलो हिस्सा कोइला, ग्यास र सोलारबाट आपूर्ति हुने भए पनि बिहान र बेलुकाको उच्च माग तथा रातिको समयमा जलविद्युत् जस्ता स्टोरेज ऊर्जामा भर पर्नुपर्ने बाध्यता छ।
माग बढेका यस्ता संवेदनशील समयमा भारतीय बजारमा मूल्य चुलिने हुनाले नेपालले सही समय र सही ठाउँ पहिचान गरी बजार फराकिलो बनाउनुपर्ने विज्ञहरूको सुझाव छ।















