प्रचण्ड सरकारले गर्यो एक वर्षको कार्य उपलब्धि सार्वजनिक, के के भए काम ? (पुर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्ष कार्यकाल पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गरेका छन् ।
मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटी अनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ’ ।
‘दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म १८ घण्टा लोडसेडिङ हुनु स्वाभाविक मानिन्थ्यो, आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ। १ वर्षमा बिजुली बेचेर १५ अर्ब २७ करोड आर्जन गर्ने अवस्थामा पुगेको छ’ उनले भने ।
उनले ५ वर्षमा यो अवस्था आउने कल्पना पनि नगरिएको दाबी गरे। भारतमा बिजुली बिक्री सुरु भइसकेको र चाँडै बंगलादेशमा समेत बिजुली बिक्री गरिने उनको भनाइ छ।













