धेरै जलविद्युत आयोजनाहरूमा हामीले सिङ्गल डिजिटमा ऋण दिएका छौँ, थप लगानी बढाउँछौँ: सिइओ केसी
काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले जलविद्युत आयोजनाहरुमा धेरै ऋण लगानी गरेको बताए ।
माथिल्लो मोदी ए जलविद्युत आयोजना निर्माणका लागि ऋण लगानी सम्वन्धमा सोमबार राजधानीमा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै सिईओ केसीले यस्तो बताएका हुन् । प्राधिकरणले अगाडी बढाएको आयोजनामा लगानी गर्न पाउनु निजी बैंकका लागि ऐतिहासिक अवसर र एउटा कोसेढुङ्गा भएको केसीले टिप्पणी गरे ।
उनले थप आयोजनाहरुमा पनि लगानी बढाउँदै जाने बताए । उनका अनुसार हाल बैंकले १९ अर्ब रुपैयाँ जलविद्युतमा लगानी गरेको छ । सोही अवसरमा अगामी दिनमा ३५ अर्ब रुपैयाँ लगानी गर्न प्रतिबद्धता गरेको केसीले जानकारी गराए । ‘यसअघि हामीले ऊर्जा बन्ड जारी गरेका थियौ । ऊर्जामा एकल अंकको व्याजदरमै कर्जा दिदैं आएका छौं,’ उनले भने, ‘आगामी दिनहरुमा पनि ऊर्जामा लगानी बढाउँदै जान्छौं ।’
४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युतका लागि एनएमबि बैंक र र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
एनएमबी बैंकले ४ अर्ब ४० करोड रुपैयाँ र एचआईडीसीएलले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एचआईडीसीएल सहभागी भएर संयुक्त रुपमा ऋण लगानी गर्ने भएका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित यस आयोजना नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी मोदी जलविद्युत् कम्पनी लिमिटेडले अघि बढाएको छ, जसको कुल लागत १० अर्ब ५७ करोड रुपैयाँ अनुमान छ, त्यसको ७० प्रतिशतको अनुपातमा एनएमबी र एचआईडीसीएलले लगानी गर्ने भएका हुन् ।
यस सम्बन्धमा सोमबार कम्पनी, एनएमबी बैंक र एचआईडीसीएल बीच ऋण लगानी सम्झौता भएको छ । त्यसमा कम्पनीका प्रवन्ध सञ्चालक सुर्यप्रसाद पौडेल, एनएमबी बैंकका प्रमुख लगानी अधिकृत श्रीजेश घिमिरे र एचआईडीसीएलका डीजीएम अरुण रजोरियाले हस्ताक्षर गरेका छन् । बाँकी ३० प्रतिशत भने नेपाल विद्युत् प्राधिकरण र सर्वसाधारणबाट इक्विटीको रुपमा उठाइनेछ ।













