८ श्रावण २०८३, शुक्रबार

मधेश प्रदेशमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया



काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।

प्रमुख साहले नागरिकहरूलाई आफ्नो जीवन, घर, सम्पत्ति, कृषिबाली र पशुपन्छीको बीमा गरेर आर्थिक सुरक्षण गर्न आग्रह गरे । यसका साथै दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउनुपर्ने आवश्यकता औंल्याए ।

सोही अवसरमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उपमहानगरपालिकाले राहत लागि छुट्याएको बजेटबाट न्युन आय भएका विपन्न बर्गको बीमा गर्ने व्यवस्था गर्न आग्रह गरेको । उनले उपमहानगरपालिको भवन तथा सम्पत्तिको बीमा गरेर बीमाको शुरूवात गर्न अनुरोध गरेका छन् ।

‘बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नियमन गर्दै आएको छ, दाबी भुक्तानी नपाएमा प्राधिकरणमा उजूरी गर्न सकिन्छ, सबैले ढुक्क भएर बीमा गरौं’, अध्यक्ष सिलवालले भने । उनले बीमा क्षेत्र हेर्ने गरी सम्पर्क व्यक्ति तोक्न उपमहानगरपालिकालाई आग्रह गरे । मधेश प्रदेशमा बाढी, आगलागी लगायतको जोखिम बढी हुने भएकाले घर, सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए ।

सोही अवसरमा बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मैथिली भाषामा कार्यक्रम संचालन गरेका थिए । उनले बीमाको महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमा बजारको अवस्था, विद्यमान चुनौती, बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन आलटाल गर्ने गरेको, कतिपय बीमा कम्पनीले दाबी भुक्तानी दिन एक वर्षसम्म लगाउने गरेको, कम्पनीहरूले पटक पटक नियम परिवर्तन गर्ने गरेको लगायतका सवाल उठेका थिए ।

मधेश प्रदेशका अर्थमन्त्रीसँग बीमा सम्बन्धी छलफल

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल भएको छ ।

त्यस अवसरमा मधेश प्रदेशमा बीमाको आवश्यकता, बीमा बजारको विद्यमान अवस्था, देखिएका चुनौती, बीमा क्षेत्रको विकास र पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि आवश्यक व्यवस्था गरिने जानकारी गराए ।

सोही अवसरमा प्राधिकरणका अध्यक्ष सिलवालले मधेश प्रदेशमा बीमाको पहुँच न्यून रहेको उल्लेख गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा बीमालाई समावेश गरी बीमा क्षेत्रको विकास र एवम् विस्तारलाई प्राथमिकता दिन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्