गुगल एलएलसीले ५०० जनालाई ६ महिने आइटी कोर्षमा छात्रवृत्ती दिने, आर्थिक पत्रकारलाई पनि समेट्ने सम्झौता
काठमाडौं । नेपालीहरूलाई लक्षित गरी मेरो जब लिमिटेड र गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले गुगल करीयर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ ।
प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न आवश्यक कौशल सहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आइटी र प्रविधि क्षेत्रमा रुचि भएका ब्यक्तीहरुलाई केन्द्रित गर्दै यस कार्यक्रम ल्याएको हो ।
यस पहलले नेपाली व्यक्तिहरूलाई उनीहरूको दक्षता र योग्यताहरू विशेष गरी गतिशील सूचना प्रबिधि क्षेत्रहरूमा अगाडी बढाउन कार्यक्रम उपयुक्त हुन्छ।
यस कार्यक्रमले ५०० आवेदकहरूलाई गुगल प्रमाणित करियर सर्टिफिकेट पाठ्यक्रमहरूमा ६ महिनाको व्यापक अनलाइन प्रशिक्षणको लागि छात्रवृत्ति भर्ना गर्ने योजना बनाएको हो ।
सँगै आर्थिक पत्रकारलाई समेत उक्त कार्यक्रममा सहभागिता गराउने उद्देश्यले सेजनसँग सहकार्य थालनी गरिएको छ। सेजन अध्यक्ष सुजन ओली र मेरो जब लिमिटेडका प्रवन्ध निर्देशक शैलेन्द्रराज गिरिले समझौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अनलाइनमाध्यमबाट सञ्चालन हुने छात्रृवृत्ति कार्यक्रममा कुल ६ वटा क्षेत्रमा पाठ्यक्रम सञ्चालन हुने छ । यी कार्यक्रमहरू सामान्यतया आईटी समर्थन, डाटा एनालिटिक्स, परियोजना व्यवस्थापन, प्रयोगकर्ता अनुभव यूएक्स डिजाइन, डिजिटल मार्केटिङ र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा भूमिकाहरूको लागि आवश्यक प्राविधिक सीप र ज्ञानमा केन्द्रित हुन्छन्।
छात्रवृत्ति कार्यक्रममा छनोट हुनेले ६ महिनाको अवधिको पाठ्यक्रम र त्यसमा लिइने परीक्षा तथा मूल्यांकनमा उत्तिर्ण भएपछि प्रमाणपत्र प्राप्त गर्नेछन् । यो प्रमाणपत्र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त हुने प्रवन्ध निर्देशक गिरिले जानकारी दिए
गुगलबाट पहिलो पटक यस प्रकारको कार्यक्रम नेपालमा सञ्चालन हुन लागेको हो । सेजन अध्यक्ष सुजन ओलीले गुगलबाट प्रदान गरिने यस किसिमको छात्रवृत्ति कार्यक्रममा आफ्नो संस्था आवध हुने अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे ।
यस कार्यक्रममा सहभागी प्रतिक्षार्थीले छात्रवृत्ति कार्यक्रम अन्तर्गत अनलाइनबाट सञ्चालन हुने पाठ्यक्रममा नियमित सहभागी हुनुपर्छ। साथमा पाठ्यक्रम लिइने परीक्षा, सामुहिक छलफल र अन्तरक्र्रियामा भाग लिनुपर्छ ।
त्यसरी नियमित सहभागी नहुने गुनासो भएमा त्यस्ता प्रशिक्षार्थीलाई कार्यक्रमको बीचबाटै निष्काशन समेत हुन सक्ने प्रवन्ध निर्देशक गिरीले जानकारी दिए । उनका अनुसार गुगलबाट आउने कन्टेन्टलाई नेपाली परिवेश सुहाउँदो बनाउन बीच बीचमा कम्पनीले नेपाली विज्ञबाट समेत वेबिनार गराउने योजना बनाएको छ ।
छनोटका लागि निश्चित मापदण्डहरू छन् र तोकेका शर्त पुरा गर्नेहरुलाई तोकिएको कोटा भित्रबाट छनोट गरिने भएको छ । अंग्रेजी पढ्न र लेख्न सक्नेले यस कार्यक्रममा भाग लिन सक्ने बताएका छन्।













