८ श्रावण २०८३, शुक्रबार

प्रिमियम मूल्यमा आइपीओ ल्याएका चार जीवन बीमा कम्पनीहरु, कुन सूचकमा को तगडा ?



काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका चार वटा जीवन बीमा कम्पनीमध्ये अधिकांश सूचकहरुमा सिटिजन लाइफ र सन नेपाल लाइफ तगडा देखिएका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । आइएमई लाइफ, सिटिजन, सन नेपाल र रिलायवल नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका थिए ।

नाफा, बीमा शुल्क आर्जन, जीवन बीमा कोष, दावी भुक्तानी, प्रतिसेयर आम्दानी लगायतका सूचकहरुमा यी सिटिजन र सन नेपाल लाइफ अगाडी छन् ।

यी चारवटा मध्ये सबैभन्दा धेरै नाफा सन नेपाल लाइफले कमाएको छ । ९ महिनामा कम्पनीले ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो सूचीमा रहेको रिलायवल नेपाल लाइफले पनि ३४ करोड २ लाख ९४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यता, आइएमई लाइफले पनि ३३ करोड १५ लाख ६० लाख र सिटिजन लाइफले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

तर, व्यापारमा भने सिटिजन लाइफ अगाडी देखिएको छ । समिक्षा अवधिमा सिटिजनको खुद बीमा शुल्क आर्जन ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ कायम भएको छ । दोस्रो सूचीमा रहेको आइएमई लाइफले पनि ९ महिनामा ३ अर्ब ११ करोड ५६ लाख ३८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तै, रिलायवल नेपालले २ अर्ब ७३ करोड ५७ लाख ५८ हजार रुपैयाँ र सन नेपाल लाइफले भने २ अर्ब ४९ करोड ६ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

यता, जीवन बीमा कोषको आकार पनि सिटिजन लाइफ नै अगाडि छ । हाल कम्पनीको यस्तो बीमा कोषमा १३ अर्ब ७ करोड ६४ लाख २६ हजार रुपैयाँ छ । यी बाहेकका कम्पनीहरुको जीवन बीमा कोषको आकार १० अर्बभन्दा कम छ । समिक्षा अवधिमा रिलायवलको जीवन बीमा कोषमा ९ अर्ब २२ करोड ९ लाख ६३ हजार, आइएमई लाइफको ८ अर्ब ९० करोड ६७ लाख र सन नेपालको ६ अर्ब ९६ करोड ६० लाख रुपैयाँ छ ।

यता, महाविपत्ति कोषमा पनि सिटिजन, आइएमइ, रिलायवल र सन नेपालको क्रमशः ३ अर्ब ९४ करोड ४३ लाख, २ अर्ब ९३ करोड ६३ लाख र २ अर्ब ५ करोड ९ लाख रुपैयाँ छ ।

यस्तै, चुक्ता पुँजीमा भने रिलायवल नेपाल बलियो देखिएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । यता, आइएमई लाइफको ४ अर्ब, सिटिजनको ३ अर्ब ९३करोड ७५ लाख र सन नेपालको ३ अर्ब २० करोड रुपैयाँ छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै दावी भुक्तानी सिटिजन लाइफले गरेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । यस्तै, आइएमई लाइफको खुद दावी भुक्तानी २ अर्ब ९३ करोड ६३ लाख, रिलायवलको २ अर्ब ५८ करोड ८७ लाख र सन नेपालको २ अर्ब ५ करोड ९ लाख रुपैयाँ कायम भएको छ ।

प्रतिसेयर आम्दानी (इपिएस) भने सन नेपाल लाइफको धेरै छ । तेस्रो त्रैमासमा कम्पनीको इपिएस २० रुपैयाँ ५७ पैसा छ । यस्तै, आइएमईको ११ रुपैयाँ ५ पैसा, रिलायवलको ९ रुपैयाँ ७८ पैसार सिटिजनको ९ रुपैयाँ ५३ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ सन नेपालको १९४ रुपैयाँ ११ पैसा छ । यस्तै, आइएमईको १७७ रुपैयाँ २५ पैसा, सिटिजनको १७५ रुपैयाँ ७२ पैसा र रिलायवल नेपालको १५५ रुपैयाँ ७४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्