डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर बीमा सेवा प्रवाह गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् ।
बीमा प्राधिकरणद्वारा आयोजित पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा गरिएको छलफल एवम् अन्तक्र्रियामा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । उनले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए ।
‘संसारमैं डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेशागत बीमा अभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ’, अध्यक्ष सिलवालले भने । उनले आचारसंहिता पालना गर्न लगाई अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्ने बताए ।
बीमा मार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उनको भनाई थियो । उनले भने,‘बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ, बीमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफै विस्थापित हुन्छन् ।’
बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको जानकारी गराए । उनले बीमा सम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बीमा अभिकर्ताहरूलाई आग्रह समेत गरे ।

बीमा प्राधिकरण संचालक समितिका सदस्य कपिल देव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए । सोही अवसरमा बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बीमालेख बिक्री गर्दा देखिएका समस्याहरू लगायतका विषयमा सहजीकरण गरेका थिए ।
यता, प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदै आएको बताए । सोही अवसरमा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले प्राधिकरणले जारी गरेको डिजिटल बीमालेख निर्देशन बीमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बीमाको पहुँच बढाउन भएको स्पष्ट पारिन् ।
कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेशागत बीमा अभिकर्ता सङ्घका महासचिव ओम के.सी. ले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुती गरिएको थियो ।













