८ श्रावण २०८३, शुक्रबार

स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत, कार्यक्रम विस्तारका लागि साढे ७ अर्ब विनियोजन



काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम थप विस्तार गर्ने भएको छ । स्वास्थ्य सेवामा आमनागरिकको पहुँच सुनिश्चित गर्न उक्त कार्यक्रम विस्तार गर्ने भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले ७ अर्ब ५० करोड रुपैयाँ विनियोजना गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । उनले स्वास्थ्यसँग सम्वन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमा बीचको दोहोरोपना हटाइने जानकारी गराए ।

उनले भने,–‘स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ। स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छु।’

एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षाकोष मार्फत हुने व्यवस्था मिलाइने भएको छ ।

यस्तै, बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा आपतकालीन बाल उद्धार तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पुनले जनाकारी गराए । साथ बाल सुधार गृहका भौतिक संरचना सुदृढ गर्दै बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्