२३.३१ प्रतिशत बढ्यो लघु निर्जीवन बीमा कम्पनीहरुको व्यापार, कसको प्रिमियम कलेक्सन कति ?
काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुको व्यापार एक महिनामै २३.३१ प्रतिशत वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
हाल चार वटा निर्जीवन लघुबीमा कम्पनीहरु संचालनमा छन् । ती कम्पनीहरुले ११ महिनामा कुल २३ करोड ८१ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । समिक्षा अवधिमा कम्पनीहरुले १ लाख ४ हजार २७९ वटा बीमालेख बिक्री गरेका छन् । गत बैशाखको तुलनामा कम्पनीहरुले ४ करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय बढाएका छन् । गत बैशाखसम्ममा भने कम्पनीहरुले ८५ हजार ५४५ वटा बीमालेख बिक्री गरि १९ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ११ महिनामा कुल ४३ हजार १९७ वटा बीमालेख बिक्री गरेको छ। जेठ महिनामा मात्रै कम्पनीको ४ हजार ७०५ वटा बीमालेख बिक्रीबाट १ करोड १६ लाख बीमाशुल्क संकलन भएको छ ।
यस्तै, प्रोटेक्टिभ माइक्रोले २५ हजार १३५ वटा बीमालेख बिक्री गरि ७ करोड ४९ लाख १३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले जेठमा मात्रै ४ हजार ८०२ वटा बीमालेख बिक्रीबाट १ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
यता, स्टार माइक्रोले पनि ११ महिनामा ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जेठमा मात्रै कम्पनीले ५ हजार ४६० वटा बीमालेख बिक्री गरि १ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । ११ महिनामा भने कम्पनीले २६ हजार ५८९ वटा बीमालेख बिक्री गरेको छ ।
त्यसैगरि ट्रस्ट माइक्रा इन्स्योरेन्सले पनि जेठसम्म ९ हजार ३५८ वटा बीमालेख बिक्री गरि २ करोड २० लाख ६९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। जेठमा मात्रै कम्पनीको ३ हजार ७६७ वटा बीमालेख बिक्री भई ९० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।













