सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८१’ भव्य रुपमा सम्पन्न, विभिन्न विधामा सम्मान र पदक प्रदान
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८१’ राजधानीको लाजिम्पाटस्थित राडिसन होटलमा शुक्रबार भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिव १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित भएकाहरुलाई बाग्मती प्रदेश प्रमुख ,चरण दास तिमल्सेनाले स्वागत मन्तव्यका साथ अभिनन्दन गरेका थिए। उक्त अवसरमा आर्थिक वर्ष २०८०/०८१ मा देशभरबाट उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरुमध्येबाट सर्वोत्कृष्टहरुलाई अवार्डबाट सम्मानित गरिएको थियो ।

देशभरबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड र ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो ।
व्यक्तिगत कोडमा बुटवल पाल्पा रोड शाखा अन्तर्गत कार्यरत कमलप्रसाद घिमिरे र सामूहिक व्यवसायमा कोहलपुर शाखा अन्तर्गत कार्यरत गौरव कुमार शाही द्वयलाई सूर्यज्योति रत्न अवार्ड २०८१ बाट ट्रफि र नगदसहित सम्मानित गरिएको थियो ।
त्यस्तै प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सजिलो भुक्तानी बीमा योजना ’ र सावधिक जीवन बीमा योजना अन्तर्गत क्रमशः गौरव कुमार शाही र सिर्जना पन्तलाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त अवसरमा कम्पनीले एमडीआरटी २०२५ का क़्वालिफायार्स र चेयरम्यान क्लब अन्तर्गतका ५२ जनालाई समेत सम्मान गरेको थियो । कम्पनीले देशभरबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो ।

कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने तथा अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखा मध्ये क्रमश: बुटवल पाल्पारोड शाखा र जनकपुर मिल्सरोड शाखालाई शिल्डसहित भब्य रुपमा सम्मानित गरिएको थियो ।
उक्त अवसरमा कम्पनीका सञ्चालक द्वय हेमन्त नाहाटा र चुडामणि देवकोटा , प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत व्यवस्थापनका उच्च पदस्थ महानुभावहरुले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै अवार्ड तथा ट्रफी प्रदान गरेका थिए ।
देशभरीबाट बिजेता भएर आएका सहभागी सबैलाई सेल्स एंड मोटीभेसन स्पिकर श्य्यद अफ्ज़ल अहमदले सेल्स टुल्स र रणनीति सम्बन्धि सेशन मार्फत उत्कृष्ट स्किल्स सिकाएका थिए। उनले ठुलो सफलताका लागी ठुलै उद्देश्य र अठोट चाहिने बताए। उपस्थित सहभागीहरुले सो सेशनद्वारा आफूमा थप उर्जा र चेतना जागेको बताए।

कार्यक्रममा चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै आगामी वर्षको लक्ष्य प्राप्त गर्न आजै देखि सबै जनाले अठोट लिएर लाग्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्काले एजेन्सी अवार्ड नाइट-२०८१’लाई भव्य रुपमा सफल बनाउन साथ र योगदान गर्ने सम्पूर्णलाई बधाई दिए । सूर्यज्योति लाइफ मुलुककै सबैभन्दा उत्कृष्ट जीवन बीमा कम्पनी बनाउन सेवाहरु, बीमा योजनाहरु र विश्वासनियतामा उत्कृष्टता प्रदान गर्ने बताए ।
कार्यक्रमका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रुपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अभिकर्ताहरुले आफ्नो टीम विस्तार गर्नु ,कर्मचारीहरुले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बीमितहरुका लागि दरिलो बिश्वास दिएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए ।
साथै सूर्यज्योति लाइफ नेपालकै पहिलो आईएसओ २००१:२०१५ सर्टिफाई कम्पनी भएको र कम्पनिले समयसापेक्ष उत्कृष्ट बिमा योजना पस्किँदै आएको र बीमितहरुको सहजताको लागि नयाँ-नयाँ प्रबिधिमैत्री सेवा बिस्तार गर्दै लागेको जसअन्तर्गत ल्याइएको ‘मोबाइल एप’ अभिकर्ता र बिमीतहरुका लागि एकदमै उपयोगी भएको बताए ।

कार्यक्रममा कम्पनीका सञ्चालक हेमन्त नाहाटाले उपस्थित अभिकर्ताहरुलाई सम्बोधन गर्दै कम्पनीलाई मुलुककै नमूना र विश्वसनीय जीवन बिमा कम्पनीको रुपमा स्थापित गर्न हामी सबै एकजुट भएर लाग्नु बताए। साथै कम्पनीको यो यात्रामा साथ दिनुहुने आदरणीय अभिकर्ता ,अहोरात्र खटिने कर्मचारीहरु र सदैव मार्गनिर्देश गर्नुहुने नियमनकारी निकाय बीमा प्राधिकरण प्रति कृतज्ञ रहेको जनाए।













