लहलहैमा सेयर लगानीकर्ता, कमजोर कम्पनी महँगोमा किनेर जोखिम मोल्दै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लहलहैमा सेयर लगानीकर्ता, कमजोर कम्पनी महँगोमा किनेर जोखिम मोल्दै



काठमाडौं । बेला बेलामा सेयर बजारलाई लिएर जुवाघरको संज्ञा दिइन्छ । नेतृत्व तहबाटै यस्तो प्रतिक्रिया आएर विवादित हुने गरेको घटनाहरू धेरै छन् । जसले गर्दा सेयर बजार नै तरंगित बन्ने गरेका प्रशस्त उदाहरण छन् ।

कहिलेकाही सेयर बजार साच्चै जुवाघर झैँ बन्ने गरेको छ । सेयर बजारमा आफ्नो बुद्धिविवेकले भन्दा पनि अरूले के भने भन्नेतर्फ लगानीकर्ताको ध्यान केन्द्रीत भएको देखिन्छ । यसरी लहलहैमा लागेर लगानी गर्दा चुकाउनुपर्ने जोखिमबारे भने अधिकांश लगानीकर्ता अनविज्ञ देखिन्छन् ।

हिजो (मंगलबार) मात्रै कर्णाली डेभलपमेन्ट बैंकलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले कारबाही गर्यो । बैंकको निष्कृय कर्जा उच्च भएको भन्दै नयाँ निक्षेप खाता खोल्न, थप निक्षेप संकलन गर्न र थप कर्जा प्रवाह गर्न रोक नै लगायो । राष्ट्र बैंकले गरेको निरीक्षणमा बैंकको निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशतसम्म रहेको पाइएपछि बैंकलाई सम्पूर्ण वित्तीय कारोबारमा रोक लगाएको हो ।

बाँके, बर्दिया, दाङ, प्युठान र रोल्पा कार्यक्षेत्र रहेको यो बैंकको निष्क्रिय कर्जा धेरै हुँदा बैंकको न्यूनतम पुँजी कोष अनुपात कायम नहुने देखिएपछि राष्ट्र बैंकले जनाएको छ।

रोचक कुरा त के छ भने हिजो मात्र राष्ट्र बैंकको कारबाहीमा परेको यस बैंकको सेयर मूल्यमा आज उछाल आयो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । जबकी बलिया मानिएका बैंकहरूको मूल्य २ देखि ३ सय हाराहारीमा छन् ।

यो बैंक आज सर्वाधिक कारोबार हुनेको कम्पनी मध्येको सातौँ नम्बरमा छ । यस कम्पनीको २० करोड १३ लाख ३८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भयो । १ हजार १ सय ७४ पटक कारोबारमा २ लाख ५० हजार ४३९ कित्ता सेयर किनबेच भएको देखिन्छ।

कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट लाग्नुले लगानीकर्ताको चेतनास्तर र बजारप्रति कत्तिको अपडेटेड छन् भन्ने कुरालाई स्पष्ट देखाउँछ । उनीहरूलाई आफूले लगानी गरिरहेको कम्पनी कस्तो छ ? भन्ने सामान्य ज्ञान समेत राख्दैनन् ।

आज समग्र विकास बैंक समूह नै बढेको छ । तर कमजोर र कारबाहीमा परेको कम्पनीकै मूल्य यसरी बढ्नुमा चलखेल नै भएको लगानीकर्ताहरू बताउँछन् । राम्रो कम्पनी घट्ने र बन्द हुने अवस्थामा पुगेको कम्पनीको मूल्य बढ्नुले सोझासाझा लगानीकर्ताको लगानी जोखिममा पर्ने जानकारहरू बताउँछन् ।

यस्ता कम्पनीहरूको मूल्य बढ्नुले बजारको दीर्घकालीन वृद्धि विकासमा समेत असर गरे एक लगानीकर्ता बताउँछन् । ‘नियामक निकायले नै समस्याउन्मुख भएको भनेर वित्तीय कारोबारमा रोक लगाएको कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो त उदाहरण मात्र हो अक्सर कमजोर कम्पनीको सेयर मूल्य बढ्ने गरेका छन् । यसले बजारको दिगो वृद्धिमा असर गर्छ’ थी लगानीकर्ताले भने ।

लगानीकर्ताहरू आफ्नो लगानी सुरक्षित भए नभएको हेक्का राख्नुभन्दा पनि कुन सेक्टर बढेको छ त्यतातिर झुकाव राख्ने गरेकोले यस्तो समस्या देखिएको उनी बताउँछन् । कर्णाली डेभलपमेन्ट बैंक मात्र होइन पछिल्लो समय अधिकांश कमजोर कम्पनीको सेयर मूल्य बढ्ने गरेका छन् ।

कमजोर र कारबाहीमा परेको कम्पनीको मूल्य बढ्नुले चलखेल भएको सजिलै बुझ्न सकिन्छ । जस्तो विषयमा लगानीकर्ता आफैं सजक रहनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्