क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज (फागुन २२ गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

यसका साथै कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर पनि बाँडफाँट गरिसकेको छ।

कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन २६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्