दरमखोला हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम मौका, ५० हजार कित्ता भर्न पाइने
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनील गत असार ९ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको छ भने, २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँका दरले २ लाख ९१ हजार ९५० कित्ता साधारण वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ।
कम्पनीको साधारण सेयरका लागि मुसीकोट नगरपालिका, गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।













