बीमा व्यवसायमा सुधारका लागि विराटनगरमा छलफल, कर्मचारीको इमान्दारिता र क्षमता अभिवृद्धि अनिवार्य - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बीमा व्यवसायमा सुधारका लागि विराटनगरमा छलफल, कर्मचारीको इमान्दारिता र क्षमता अभिवृद्धि अनिवार्य



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले यस्तो निर्देशन दिएका हुन् ।

बीमा पेशाका राम्रा र नराम्रा पक्षहरू पहिचान गरी राम्रा पक्षलाई मात्र अगाडि बढाउन निर्देशन दिए ।

अध्यक्ष ओझाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम व्यवसाय गर्न, सही रूपमा जोखिमाङ्कन गर्न र बजारमा नकारात्मक सन्देश जानेगरी काम नगर्न बीमकहरूलाई निर्देशन दिए ।

ऐन, नियम र निर्देशिका विपरित गएमा कारवाही हुने बताए । बीमा व्यवसायको महत्व अरूले नभई बीमकहरूले नै बढाउने भन्दै अध्यक्ष ओझाले बीमकले बीमालेख जारी गर्दा सही जानकारी दिएमा दाबी भुक्तानीमा समस्या नआउने बताए ।

अध्यक्ष ओझाले भने,‘नागरिकले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, कर्मचारीको क्षमता अभिवृद्धिसँगै इमान्दारिता आवश्यक छ ।’

कार्यक्रम बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा कम्पनीहरूले सुशासन पालना नगरी रेट कटिङ गरेमा कारवाही हुने बताए । कम्पनीहरू स्वनियममा बसेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले बीमकका प्रादेशिक कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका थिए । प्रदेशमा सङ्कलन भएको प्रिमियमको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित प्रदेशमा नै खर्च गर्नुपर्ने, कर्मचारीहरूका लागि तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

यस्तै, शाखा कार्यालय स्थापना गर्दा मापदण्ड अनुसार हुनुपर्ने, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समावेश गर्न पहल गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्