१७ कार्तिक २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयले ल्यायो २८ अर्ब १२ करोडको बजेट, अनुसन्धानका लागि छुट्यायो ३७ करोड



काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि त्रिभुवन विश्वविद्यालयले सवा २८ अर्बको बजेट ल्याएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजारकाे बजेट पास गरेको हो ।

बजेटमा त्रिविको आफ्नै स्रोतबाट १३ अर्ब ८८ करोड ९३ लाख ७२ हजार (४९.३९ प्रतिशत) र नेपाल सरकारबाट १४ अर्ब २३ करोड ६३ लाख ४९ हजार रुपैयाँ (५०.६१ प्रतिशत) रहेको छ ।

कुल बजेटको ८५.१२ प्रतिशत र पुँजीगत खर्चतर्फ कुल प्रस्तावित बजेटको १४.८८ प्रतिशत हुन आउँछ ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १२ अर्ब ८१ करोड ५५ लाख ४१ हजार रुपैयाँ अनुदान छुट्याएको छ । उक्त रकमको अवस्थालाई हेर्दा प्रस्तावित बजेटमा १ अर्ब ४२ करोड ९ लाख ८ हजार रुपैयाँ कम हुने देखिएको छ ।

यस्तै शिक्षक तथा कर्मचारीलाई प्रविधिमैत्री बनाउँदै दक्षता अभिवृद्धि गर्नका निम्ति तालिम, सेमिनार तथा गोष्ठीका लागि १७ करोड ४३ लाख ४० हजार विनियोजन गरिएको छ । अनुसन्धान तथा विकासका लागि यो वर्ष ३७ करोड ७ लाख २३ हजार छुट्याएको छ ।

कूल बजेटको १.३१ प्रतिशत रकम अनुसन्धान कार्यमा खर्च गर्ने व्यवस्था मिलाएको छ । यस वर्ष सूचना प्रविधि प्रशासनिक संयन्त्र व्यवस्थापनको लागि २ करोड विनियोजन गरिएको छ ।