नेप्सेमा ऐतिहासिक वर्ष : २१ खर्ब बढीको सेयर कारोबार, बजार पूँजीकरण ३१ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धितोपत्र दोस्रो बजार कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
सो वर्ष सेयर कारोबार मात्रै होइन, बजार पुँजीकरणदेखि कम्पनी सूचीकरणसम्मका सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ ।
नेप्सेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत आर्थिक वर्षमा कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो वर्ष २०८०/८१ को ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको तुलनामा १८९.२३ प्रतिशतले वृद्धि भएको हो ।
यसअघिको कारोबारको सबैभन्दा ठूलो रेकर्ड २०७७/७८ मा कायम भएको थियो, जुन १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ थियो।
त्यस्तै, २०८२ असार मसान्तसम्म बजार पूँजीकरण ३१.०५ प्रतिशतले बढ्दै ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सो पूँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ थियो । कम्पनी सूचीकरणतर्फ पनि गत वर्ष महत्वपूर्ण प्रगति भएको छ ।
मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीबाट हटेका भए पनि प्रथम सार्वजनिक निष्कासन मार्फत ४ नयाँ कम्पनी सूचीकृत भएका छन् । साथै, सो वर्षमा प्रथम निष्कासन, थप निष्कासन, सरकारी सेयर तथा सामूहिक लगानी कोष र ऋणपत्र गरी कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।















