बैंकिङ प्रणालीमा अधिक तरतलता कायमै, आज थप ५० अर्ब तान्दै केन्द्रिय बैंक
काठमाडौं । अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट आज पनि राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ तान्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
केन्द्रीय बैंकले साउन ४ गते मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुने बताएको हो । केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।
यसको सावा तथा ब्याज भदौ १५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।













