फेरि ब्यूँतिदै घरजग्गा बजार, के अब स्थायित्व आउँछ ?
काठमाडौं । केही वर्षसम्म सुस्ताएको नेपाली घरजग्गा बजार अहिले फेरि चलायमान बन्दै गएको छ ।
विशेष गरी काठमाडौं उपत्यकादेखि पूर्वका सहरी क्षेत्रसम्म निजी आवास निर्माण र भाडामा दिने घरहरूको संख्या तीव्र गतिमा बढ्न थालेको छ, जसले समग्र बजारमा नयाँ ऊर्जा थपेको हो ।
जग्गा कित्ताकाट र पास प्रक्रिया छिटो हुनुका साथै निजी तथा व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदमा बढ्दो चासो देखिएको छ । यो प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास मजबुत बनाउँदै बजारमा सकारात्मक संकेत दिएको छ ।
भू–उपयोग नीतिमा आएको निरन्तर लचकता, कर्जामा सुलभता, घट्दो ब्याजदर र मालपोत कार्यालयको डिजिटल प्रणालीजस्ता सुधारहरूले पनि बजारको गतिमा तीव्रता ल्याइरहेका छन् । समग्रमा, स्थिर भएको बजार फेरि गति लिँदै उज्यालो भविष्यतर्फ उन्मुख देखिन्छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागकाले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को तथ्याङ्कले यस्तो देखाएको हो । गत आवमा देशभर कुल ५ लाख ३८ हजार १२८ वटा घरजग्गाको लिखत पारित भएको छ । यो अघिल्लो आवको तुलनामा सामान्य ०.१५ प्रतिशत मात्रै धेरै हो । गत आवको साउनदेखि असार मसान्तसम्म कुल ५ लाख ३७ हजार २९५ वटा घरजग्गा किनबेच भएका थिए । पछिल्लो समय मासिक ५० हजार हाराहारीमा नै घरजग्गा किनबेच हुँदै आएको देखिन्छ ।
विभागका अनुसार गत असारमा मात्रै ५५ हजार ५२४ वटा घरजग्गा खरिदबिक्री भएका छन् । यो गत आवको असारको तुलनामा भने २०.२३ प्रतिशत धेरै हो । यद्यपि, अघिल्लो महिना अर्थात गत जेठको तुलनामा झिनो गिरावट आएको छ । गत जेठमा देशभर ५६ हजार १० वटा घरजग्गा किनबेच भएको थियो ।
विभाग अनुसार गत बैशाखमा ५२ हजार ४२३, चैतमा ४९ हजार ८३२, फागुनमा ४६ हजार ६१, माघमा ४६ हजार ६९, पुसमा ४८ हजार १५६ वटा घरजग्गा किनबेच भएका थिए । गत आवको पहिलो महिनामा ४३ हजार ८३५ वटा, भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७, कात्तिकमा ३३ हजार ५१४ र मंसिरमा ४३ हजार ३७९ वटा घरजग्गा खरिदबिक्री भएको विभागले जनाएको छ ।
कुल कारोबारमा अपेक्षित वृद्धिदर नदेखिए पनि नीतिगत सुधार, लगानीकर्ता उत्साह, सहज कर्जा सुविधा र प्रविधिमैत्री सेवा प्रणालीले नेपाली घरजग्गा बजारलाई पुनः आशावादी मोडमा ल्याइरहेको छ । आगामी दिनमा कारोबार चलायमान हुने विश्वास छ ।
कारोबार स्थिर : राजश्व भने दोहोरो अंकमा बढ्यो, एकै वर्ष उठ्यो ४९ अर्ब
घरजग्गा कारोबार करिब स्थिर जस्तै देखिएता पनि राजश्व भने उल्लेख्य बढेको छ । एक वर्ष सरकारले घरजग्गा क्षेत्रबाट ४९ अर्ब बढी राजश्व प्राप्त गरेको हो ।
गत आवमा देशभरको कारोबारबाट ४९ अर्ब ४ करोड ५९ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो अघिल्लो आवको तुलनामा १६.७५ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कुल ४२ अर्ब ९२ लाख ८१ हजार रुपैयाँ राजश्व उठेको थियो ।
गत असारमा हालसम्मकै उच्च ६ अर्ब ५५ करोड १७ लाख १२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो अघिल्लो असारको तुलनामा ४२.०४ प्रतिशत धेरै हो ।
गत जेठमा ४ अर्ब ७२ करोड ७० लाख, बैशाखमा ४ अर्ब ५४ करोड २२ लाख, चैत ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार, फागुनमा ४ अर्ब १२ करोड ३ लाख रुपैयाँ राजश्व उठेको थियो ।
यता, माघमा ३ अर्ब ८७ करोड २४ लाख, ८१ हजार, पुसमा ४ अर्ब २५ करोड २२ लाख, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, २६ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख, भदौमा ३ अर्ब ९ करोड २ लाख र साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
















