७ श्रावण २०८३, बिहिबार

कस्तो चल्दैछ हेभी ट्रक बेच्ने ओम्नी मोटर्सको व्यापार ?



काठमाडौं । ओम्नी मोटर्स प्रालिको व्यवसाय पछिल्ला केही वर्षयता भने लगातार ब्रेक लाग्दै गएको देखिन्छ ।

हेभी ट्रक सेग्मेन्टमा भारतबेन्च ब्रान्डका व्यवसायिक सवारी साधनको आधिकारिक विक्रेता ओम्नीले चालु आर्थिक वर्षको नौ महिनामा ७९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।

सन् २०१३ मा स्थापना भएको र वीरगञ्ज, पर्सामा केन्द्रीय कार्यालय रहेको यो कम्पनीले हालसम्म देशभर ११ वटा शोरुममार्फत सेवा दिइरहेको छ ।

कम्पनीमा राजिन्द्र काब्रा, दिपंकर काब्रा, विनय काब्रा, उदय काब्रा र सन्दिपकुमार मोहताको स्वामित्व छ । अध्यक्षको भूमिकामा राजिन्द्र काब्रा छन् ।

पछिल्ला केही वर्षको आँकडाले कम्पनीको व्यापारमा निरन्तर उतार चढाव देखिएको छ । सन् २०२१ मा ओम्नीले २ अर्ब १ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२२ मा यो बढेर २ अर्ब २८ करोड १० लाख रुपैयाँमा पुगेको थियो । तर, त्यसपछि व्यापारमा तीव्र गिरावट आएको देखिन्छ ।

सन् २०२३ मा कम्पनीको व्यापार ६९ करोड ८० लाख रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ६९ प्रतिशत कम हो । कम्पनीले आर्थिक सुस्तता र बजार मागमा आएको गिरावटलाई प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।

तर, सन् २०२४ मा भने केही सुधार देखिएको छ । उक्त वर्ष कम्पनीले ७२ करोड ६० लाख रुपैयाँको व्यापार गर्न सफल देखिन्छ ।

अहिले चालु आर्थिक वर्ष (२०२५) को नौ महिनामै कम्पनीले ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ, जुन वार्षिक दरले ४६ प्रतिशत बढी हो ।

यस्तो क्रममा, कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ९५ करोड ५४ लाख रुपैयाँको रेटिङ समेत गराएको छ । जसअनुसार ३८ करोड ५४ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि र ५७ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि छुट्याइएको छ ।

व्यवसायिक गाडी बिक्रीमा विशेषज्ञता राख्ने ओम्नी मोटर्सले बजारको मागअनुसार रणनीति परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने दबाब छ ।


प्रतिक्रिया दिनुहोस्