गुराँस लघुवित्तको नाफामा ८९.९६ प्रतिशत वृद्धि, कस्ता छन् अन्य सूचक ?
काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार, लघुवित्तको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.९६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यसले २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशतले बढेको छ। यस्तै, अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानीमा ४२.१६ प्रतिशत र सञ्चालन मुनाफामा ८७.८५ प्रतिशतको वृद्धि देखिएको छ।
समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १६ रुपैयाँ १८ पैसाले बढेर ३४ रुपैयाँ १७ पैसामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसामा कायम छ। यता संस्थाकाे खराब कर्जा अनुपात ३.६७ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा झरेको छ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। चौथो त्रैमाससम्म लघुवित्तले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ कर्जाका रूपमा लिएको छ भने ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। सोही आधारमा कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।













