एडिबीको नयाँ ‘राष्ट्रिय साझेदारी रणनीति’ सार्वजनिक; आर्थिक वृद्धि, रोजगारी र उत्थानशीलता केन्द्रित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एडिबीको नयाँ ‘राष्ट्रिय साझेदारी रणनीति’ सार्वजनिक; आर्थिक वृद्धि, रोजगारी र उत्थानशीलता केन्द्रित



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज नेपालका लागि एसियाली विकास बैंक (एडिबी) को ‘राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९)’ सार्वजनिक गरे ।

एडिबीको सञ्चालक समितिबाट गत मा स्वीकृत भएको राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ।

रणनीतिले निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाहरुका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतालाई केन्द्रित गरेको छ ।

अर्थ सचिव घनश्याम उपाध्याय, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले नयाँ रणनीतिको दस्तावेज सार्वजनिक गरे ।

एसियाली विकास बैंकले नेपालमा पहिलोपटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको जनाएको छ । ‘यो सहकार्यमा आधारित विकास योजनामा महत्वपूर्ण कोसेढुंगा सावित भएको छ’, एडीबीले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्रीले पौडेलले भने, ‘एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै हाम्रो ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको शुरुवात भएको छ । १६औं योजनासँग तादम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धिः जलवायु उत्थानशीलता र खासगरी युवाहरुका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्नेछ।’

मन्त्री पौडेलले उक्त साझेदारीबाट नेपालको आर्थिक रुपान्तरणमा अटल सहयोग प्राप्त हुने बताए ।

त्यस्तै एडीबीका राष्ट्रिय निर्देशक कोश्वाले नयाँ रणनीतिमा समावेशी, उत्थानशील, हरित र रोजगारी केन्द्रित आर्थिक वृद्धिको वृहद् एजेण्डा तय गरिएको जानकारी दिए ।

उनले भने, ‘हामी अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनिभूत सहकार्यको प्रशंशा गर्दछौं । नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकासमा आवद्ध गरिएका लगानी परियोजना, नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग काम गर्न एडिबी प्रतिवद्ध छ ।’

राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रुपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितिकरणमा परेका, साथै जोखिममा रहेका समूहहरुको सशक्तीकरणजस्ता अन्तर–विषयगत प्राथमिकताहरु समावेश गरेको छ । जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्ने एडीबीको दाबी छ ।

यस्तो छ दस्तावेज :

एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत सिर्जना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरुका बारेमा विस्तृत प्रस्तुत दिएका थिए ।

कार्यक्रममा संक्षिप्त श्रव्यदृश्य सामग्रीमार्फत् एडिबी र विश्व बैंक समूहले रणनीति तयार गर्ने क्रममा विभिन्न सरोकारवाला समेत सातै प्रदेश र संघीय निकायहरुसँग गरेको व्यापक परामर्शको झलक पनि देखाइएको थियो ।

राष्ट्रिय साझेदारी रणनीति सार्वजनिकीकरण कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरु, विकास साझेदारहरू, निजी क्षेत्र, नागरिक समाज, प्राज्ञिक क्षेत्र र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम प्यानल छलफलका साथै अन्तक्रियात्मक प्रश्नोत्तरहरु भएका थिए ।

एडिबी एशिया प्रशान्त क्षेत्रमा समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। यसका सदस्य र साझेदारहरूसँग मिलेर जटिल चुनौतीहरूको समाधानका लागि काम गरिरहेको छ ।

एडिबीले जनजीविकामा रुपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण र पृथ्वीलाई जोगाउनका लागि नचप्रवर्तित वित्तीय औजार एवं रणनीतिक साझेदारीको परिचालन गर्दछ।

सन् १९९६ मा स्थापना भएको एडिबीमा ६९ सदस्यहरूको स्वामित्व रहेको र ती मध्ये ५० एशिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन् ।


प्रतिक्रिया दिनुहोस्