एक वर्षमा १४ प्रतिशत घट्याे निफ्राको नाफा, वितरणयोग्य मुनाफा भने १ अर्ब १७ कराेड नाघ्याे
काठमाडाैं । गत आर्थिक वर्ष नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे नाफा घटेकाे छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत घटेकाे हाे । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.५१ प्रतिशत घटेर १ अर्ब ८९ कराेड ९८ लाख रूपैयाँमामा झरेकाे छ भने खुद फि तथा कमिशन आम्दानी ७९.७३ प्रतिशत बढेर २ कराेड १० लाख ९७ हजार रूपैयाँ पुगेकाे छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २५.०३ प्रतिशतले घटेर १ अर्ब ९२ कराेड ९ लाखमा झरेकाे छ भने सञ्चालन मुनाफा पनि १३.६९ प्रतिशत घटेर १ अर्ब ६४ कराेड २ लाख रूपैयाँ कायम भएकाे छ ।
यस अवधिमा नाफा घटेपनि बैंकको वितरणयोग्य मुनाफा भने बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
यता बैंकको प्रतिशेयर आम्दानी भने ८६ पैसा घटेर ५ रुपैयाँ ३० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ७ अर्ब ६८ कराेड ९८ लाख पुगेकाे छ भने कर्जा लगानी २४ अर्ब ८० कराेड ९३ लाख रूपैयाँ पुगेकाे छ ।
समिक्षा अवधिमा बैंककाे निक्षेप ८२६.६५ प्रतिशत बढेको छ भने कर्जा १८.९० प्रतिशत बढेको छ।













