२१३.८१ प्रतिशत बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा, कस्ता छन् अन्य सूचक ?
काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ।
बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ कमाएको छ ।
गत आर्थिक वर्षको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशतले बढीको हो ।
एक वर्षमा बैंकको खुद नाफा सामान्य बढे पनि वितरणयोग्य मुनाफा भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।
यस्तै समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशत घटेर १ अर्ब ८८ करोड ९ लाखमा खुम्चएको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशत बढेर २१ कराेड ६१ लाख १२ हजार रूपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.३९ प्रतिशत बढेर २ अर्ब २७ कराेड २० लाख र सञ्चालन मुनाफा १०.०६ प्रतिशत बढेर ७७ कराेड ४२ लाख रूपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रूपैयाँ ७० पैसाबाट बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।
३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।













