१२ श्रावण २०८३, मंगलबार

सस्तो, शक्तिशाली र स्मार्टः लिपमोटर बी १० मोबिलिटी एक्स्पोमार्फत नेपालमा धमाकेदार प्रवेश हुँदै



काठमाडौं । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लिपमोटरको नयाँ पूर्णतया विद्युतीय एसयूभी लिपमोटर बी १० औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ।

नेपालमा लिपमोटर गाडीको एकमात्र आधिकारिक वितरक शाङ्ग्रिला मोटर्सले यो एसयूभी पहिलो पटक नेपाली बजारमा प्रदर्शन गर्न लागेको हो।

लिपमोटरको सहर केन्द्रित टि ०३ र प्रिमियम सि १० पछि नेपाली बजारमा प्रवेश गर्न लागेको बी १०, मूल्यका हिसाबले सि १० भन्दा किफायती हुनेछ।

कम्पनीले यसको प्रारम्भिक मूल्य रु ६० लाखभन्दा कम हुने जानकारी दिएको छ। लिपमोटर बी १० नेपाली ग्राहकका लागि विद्युतीय सवारी प्रविधिको नयाँ अनुभव बन्ने कम्पनीकाे विश्वास छ ।

प्रविधिमैत्री निर्माण र प्रभावकारी प्रदर्शन

पाँच सिट क्षमता भएको यो एसयूभी लिप ३.५ स्मार्ट प्लेटफर्ममा आधारित छ। यसले बिवाइडी, टाटा, एमजी, हुन्डाई र प्रोटोन जस्ता मोडेलहरूसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्नेछ। करिब ४,५१५ मिलिमिटर लम्बाइ र १,४१५ लिटरको सामान बोक्ने क्षमता रहेको बी १० भित्री रूपमा निकै फराकिलो छ।

यसमा जडित १६० किलोवाट क्षमताको मोटर ले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमै दिन सक्षम बनाउँछ।

बी १० मा उपलब्ध दुई फरक ब्याट्री विकल्पले ५१० किलोमिटर र ६०० किलोमिटरको यात्रा दूरी सुनिश्चित गर्छन्। दुबै संस्करणमा छिटो चार्ज हुने सुविधा रहेको छ, जसले ३० देखि ८० प्रतिशत चार्ज हुन २० मिनेटभन्दा कम समय लिन्छ।

भित्री सजावट र सुविधा
बी १० भित्र १४.६ इन्चको उच्च गुणस्तरको पर्दा, कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित भ्वाइस सहायक, १२ स्पिकर ध्वनि प्रणाली, पारदर्शी छाना, रङ परिवर्तन हुने बत्ती, फोल्ड हुने कप होल्डर र अनुकूलन गर्न मिल्ने ड्यासबोर्ड समावेश छन्। यी सुविधाहरूले बी १० लाई प्रविधिसँग मेल खाने आधुनिक गाडी बनाएका छन्।

बी १० को विशेषता भनेको यसमा उपलब्ध लिडार प्रविधिमा आधारित स्वचालित ड्राइभिङ प्रणाली हो। उच्च संस्करणहरूमा १२८ लाइनको हेसायी लिडार, तीनवटा तरंग राडार, दुई अगाडि फर्किएका ८ मेगापिक्सेल क्यामेरा र ३६० डिग्री दृश्य दिने प्रणाली समावेश छन्। यी सबै प्रविधिहरू क्वालकम स्न्यापड्रागन राइड ८६५० चिप मा आधारित छन्, जसले चालकलाई स्मार्ट सहायता सुविधा प्रदान गर्छ।

तीन संस्करण, फरक ब्याट्री र मोटर विकल्प

अन्तर्राष्ट्रिय बजारमा लिपमोटर बी १०, ५१० कम्फर्ट, ५१० जोय र ६०० जोय गरि तीन संस्करणमा उपलब्ध छ। ५१० कम्फर्टमा १३२ किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले १७९ पिएस शक्ति र १७५ न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा ५६.२ किलोवाट घण्टाको ब्याट्री प्रयोग भएको छ, जसले ५१० किलोमिटरको दूरी तय गर्न सक्छ।

५१० जोय र ६०० जोय संस्करणमा १६० किलोवाटको मोटर रहेको छ, जसले २२० पिएस शक्ति र २४० न्युटन मिटर टर्क दिन्छ। यसमा पनि ५६.२ किलोवाट ब्याट्री नै रहेको छ।

६०० जोयमा ६७.१ किलोवाट घण्टाको ब्याट्री जडान गरिएको छ, जसले ६०० किलोमिटर दूरी प्रदान गर्छ।

लिपमोटर बी १० को आगमनले नेपाली विद्युतीय सवारी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। उन्नत प्रविधि, उच्च सुरक्षा र पहुँचयोग्य मूल्यको संयोजनले यो गाडी नेपाली ग्राहकको रोजाइमा पर्न सक्ने देखिन्छ।

नाइमा एक्स्पोमा यसको सार्वजनिक प्रदर्शनसँगै लिपमोटरले नेपालको विद्युतीय यात्रामा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।