अर्थतन्त्र पुनरुत्थानको बाटोमा, सबै क्षेत्रहरूमा देखिँदै सुधारको संकेत
काठमाडौँ । कोरोना महामारी, राजनीतिक अस्थिरता र विश्वव्यापी आर्थिक मन्दीको प्रभाव खेपिरहेको नेपाली अर्थतन्त्र पुनरुत्थानको बाटोमा लागेको संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंकले हालसालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को एकीकृत आर्थिक गतिविधि अध्ययन (अर्ध–वार्षिक प्रतिवेदन) ले यस्तो देखाएको हो ।
प्रतिवेदन अनुसार वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो दर अघिल्लो वर्षको ३.७ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो ।
बिगत केही वर्षदेखि खुम्चिँदै गएको आर्थिक गतिविधि फेरि लयमा फर्कन थालेको देखिन्छ । मुख्यतः कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रको सुधारले यो वृद्धिमा टेवा दिएको हो । अघिल्लो वर्ष संकुचनमा रहेका क्षेत्रहरू समेत यस वर्ष सकारात्मक क्षेत्रमा प्रवेश गरेको देखिन्छ ।
मुद्रास्फीति नियन्त्रणमा, मूल्य स्थायित्व सम्भव
प्रतिवेदन अनुसार आर्थिक वर्षको पहिलो छ महिनामा मुद्रास्फीति सापेक्षतः न्यून देखिएको छ । भारतमा मूल्य वृद्धि नियन्त्रणमा रहनु, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउनुजस्ता कारणले मूल्य चाप घटेको हो । यद्यपि, भू–राजनीतिक अस्थिरता, ठूला मुलुकहरूको व्यापार नीति र आपूर्ति श्रृंखलामा अवरोध आउन सक्ने सम्भावनाले केही जोखिम भने रहने प्रतिवेदनमा उल्लेख छ ।
कृषि र पशुपालनः उत्पादनमा सामान्य वृद्धि
सिञ्चित जमिनको क्षेत्रफल बढ्नु, रासायनिक मल, उन्नत बीउ र प्रविधिको पहुँच सजिलो हुनु तथा मौसम अनुकूल हुनुका कारण कृषि उत्पादनमा सामान्य वृद्धि भएको देखिएको छ । पशुपालनतर्फ दूध र मासुको माग वृद्धि, युवा पुस्ताको आकर्षण तथा पशु सेवा पहुँचले पशुपालन क्षेत्रमा पनि सुधार देखिएको छ ।
औद्योगिक उत्पादन : विद्युत् आपूर्तिसँगै गति
औद्योगिक क्षेत्र अघिल्लो वर्षको संकुचनबाट उम्किएको देखिन्छ । विद्युत् उत्पादनमा भएको वृद्धिले उद्योगहरूको क्षमता उपयोग बढाएको छ । निजी क्षेत्रमा लगानी विस्तार, कर्जा प्रवाहमा सहजता, घरजग्गा कारोवारमा सुधार, निर्माण सामग्री सस्तो हुनु र पूर्वाधारको विस्तारले औद्योगिक उत्पादनमा पुनः उभार ल्याएको हो ।
सेवा क्षेत्रः पर्यटन र वित्तीय गतिविधिले वृद्धि
विदेशी पर्यटक आगमन, आन्तरिक पर्यटन, बैंकिङ कर्जाको सहज पहुँच, घट्दो ब्याजदर र बढ्दो उपभोग प्रवृत्तिले सेवा क्षेत्र थप विस्तार भएको देखिएको छ । यातायात, संचार, उपभोग्य वस्तु, रियल स्टेट जस्ता उपक्षेत्रहरू समेत विस्तारको बाटोमा छन् ।
पूर्वाधारः निर्माण गतिविधिमा पुनः उर्जा
हालसम्म पुँजीगत खर्च र राजस्वमा सन्तुलन नदेखिए पनि सुरुङमार्ग, जलाशययुक्त जलविद्युत् आयोजना, सडक स्तरोन्नति, ट्रान्समिसन लाइन विस्तार लगायतका कार्यले पूर्वाधार क्षेत्रले गति लिएको छ । पुनर्निर्माण र सरकारको पहलले यो क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।
बाह्य क्षेत्रः शोधनान्तर वचत र वैदेशिक मुद्राको सञ्चिति सन्तोषजनक
निर्यात तथा विप्रेषण आप्रवाहको बढोत्तरीले शोधनान्तर वचतमा उल्लेख्य वृद्धि भएको छ । हाल विदेशी मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । सरकार र निजी क्षेत्र मिलेर नीतिगत स्थायित्व, लगानी प्रवद्र्धन र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन आवश्यक देखिन्छ ।













