कर्णाली डेभलपमेन्ट बैंक घोटाला: ३ अर्ब २० करोड अपचलन, १०८ जनाविरुद्ध मुद्दा सिफारिस
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको ठूलो आर्थिक घोटालाबारे अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकको करिब ३ अर्ब २० करोड रुपैयाँ अपचलन भएको निष्कर्ष निकालेको छ।
सीआईबीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय, बाँकेमा प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनअनुसार बैंक सञ्चालक समितिका तीन जना अध्यक्षसहितका पदाधिकारीहरूले मिलेर सो रकम अपचलन गरेको पाइएको हो। बैंक बाँकेको नेपालगन्जमा सञ्चालन हुँदै आएको छ।
घटनाबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापाको नेतृत्वमा टोली नेपालगन्ज खटिएको थियो। अनुसन्धानपछि प्रहरीले कुल १०८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
जसमा ३ जना अध्यक्ष, ८ जना उच्च पदाधिकारी, ४ जना सेयरधनी र ४० जना ऋणीहरू प्रतिवादीको रूपमा समावेश छन्। बाँकी १०४ जनालाई फरार अभियुक्तको सूचीमा राख्न सिफारिस गरिएको छ।
यस प्रकरणमा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको छ।













