सिद्धार्थ बैंकको विष्फोटक कमब्याक: खुद नाफा १६२.७५% ले बढेर ८५ करोड पार, लाभांश क्षमता ३५ प्रतिशत माथि
काठमाडौं । व्यावसायिक गतिविधि र वित्तीय अनुशासनमा सुधार ल्याउँदै सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा लोभलाग्दो वित्तीय नतिजा सार्वजनिक गरेको छ।
कर्जा जोखिम व्यवस्थापनमा आएको व्यापक सुधार तथा कोर बैंकिङ आम्दानीमा भएको विस्तारका कारण बैंकको खुद नाफा, सञ्चालन मुनाफा र वितरणयोग्य कोषमा ऐतिहासिक उछाल देखिएको हो।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा ३२ करोड ४० लाख ९१ हजार रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी १०.५३ प्रतिशतले विस्तार भई २ अर्ब ३८ करोड ८० लाख ९३ हजार रुपैयाँ कायम भएको छ, जुन गत वर्षको यसै अवधिमा २ अर्ब १६ करोड ५ लाख ६८ हजार रुपैयाँ रहेको थियो।
यस्तै, गैर-ब्याज आम्दानीतर्फ खुद शुल्क तथा कमिसन आम्दानी १०.७१ प्रतिशतले बढेर ५७ करोड रुपैयाँ पुगेको छ। यी आम्दानीसहित बैंकको कुल सञ्चालन आम्दानी ७.५३ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ।
बैंकको मुनाफामा उच्च छलाङ आउनुको मुख्य कारण जोखिम व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) मा आएको व्यापक गिरावट हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ८७ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट खर्च ४३.४८ प्रतिशतले घटेर यस अवधिमा ६७ करोड १८ लाख रुपैयाँमा झरेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा १४८.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि आकर्षक उछाल आएको छ। गत वर्षको पहिलो त्रैमासमा ७.८२ रुपैयाँ रहेको ईपीएस बढेर १८.७६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९.६१ रुपैयाँ कायम भएको छ।
वितरणयोग्य नाफातर्फ बैंकले थप बलियो आधार खडा गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको कमाइबाट मात्रै २७ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य नाफा बचत भएको छ, जुन गत वर्षको पहिलो तीन महिनामा २२ करोड १६ लाख रुपैयाँ ऋणात्मक (घाटामा) थियो।
यस्तै, भदौ २९ मा परिपक्व भएको ऋणपत्रको पुँजी फिर्ता कोष (क्यापिटल रिडेम्प्सन रिजर्भ) बाट पुँजी समायोजन कोषमा रकम स्थानान्तरण भएसँगै बोनस सेयर वितरणका लागि बैंकसँग उपलब्ध कुल वितरणयोग्य कोष १ अर्ब ६१ करोड ६३ लाख रुपैयाँबाट उल्लेख्य रूपमा बढेर ३ अर्ब ५७ करोड ३७ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
यस्तै सम्पत्तिको गुणस्तरमा पनि बैंकले सुधार ल्याएको छ। गत वर्षको पहिलो त्रैमासमा ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात समीक्षा अवधिमा घटेर ३.७० प्रतिशतमा झरेको छ।
व्यवसाय विस्तारतर्फ बैंकले ग्राहकलाई प्रवाह गर्ने कुल कर्जा लगानी ४.२३ प्रतिशतले विस्तार गरी २ खर्ब ४४ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छभने कुल निक्षेप संकलन ३ खर्ब ३४ अर्ब ८२ करोड १७ लाख रुपैयाँ कायम भएको छ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुग्दा रिजर्भ कोषमा १५ अर्ब ८३ करोड १२ लाख रुपैयाँ सञ्चित छ।















