११ श्रावण २०८३, सोमबार

नाइमा एक्स्पो तताइरहेका दुइ पांग्रे: २ लाखको स्कुटरदेखि १३ लाखको बाइकसम्म, कुन ब्रान्डले के–के ल्याए ?



काठमाडौं । काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ देशभरका मोटरसाइकल प्रेमीका आकर्षणको केन्द्र बनेको छ ।

गत बुधवार अर्थात् साउन २१ गतेदेखि सुरु भएको एक्स्पोमा विभिन्न ब्रान्डका दुई पांग्रे सवारी साधान धमाधम सार्वजनि भइरहेका छन् । एक्स्पोमा १५ ब्रान्डले आफ्ना नयाँ बाइक र स्कुटर सार्वजनिक गरेका छन् ।

स्मार्ट फिचर, पर्फमेन्स र आधुनिक डिजाइनमा केन्द्रित यी मोडेलहरू युवा पुस्तादेखि व्यवसायिक प्रयोगकर्तासम्मलाई लक्षित छन् । केटीएमदेखि टीभीएससम्मका थुप्रै ब्रान्डले आफ्ना नयाँ मोडेलहरू प्रस्तुत गरेका हुन् ।

इलेक्ट्रिक र पेट्रोल दुवै सेग्मेन्टमा प्रतिस्पर्धा देखिएको यस एक्स्पोमा बेनेली, याडिया, सीएफमोटो, एथर, सेगवे, ट्रायम्फ र बीजी लगायतले आकर्षक सवारी साधन सार्वजनिक गरेका छन् ।

एक्स्पोमा विद्युतीय सवारीको बर्चस्व स्पष्ट देखिएको छ । अधिकांश कम्पनीहरूले स्मार्ट कनेक्टिभिटी, फास्ट चार्जिङ, जीपीएस, एआई, र डुअल ब्याट्री जस्ता सुविधायुक्त मोडेल प्रस्तुत गरेका छन् ।

एभरेज दैनिक यात्रुबाट लिएर एड्भेन्चर रेसिङ बाइक प्रयोगकर्तासम्मलाई ध्यानमा राखी सार्वजनिक गरिएका ती सवारी साधनहरूले नेपाली बजारमा इभि क्रान्तिको संकेत दिएका छन् ।

बढ्दो इन्धन मूल्य, वातावरणीय चिन्ता र प्रविधिमैत्री प्रयोगकर्ताको मागबीच प्रस्तुत यी मोडेलहरूले बजारमा नयाँ विकल्प र प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ ।

अब हेरौँ कुन ब्रान्डले के–के नयाँ ल्यायो र मूल्य कति तोक्यो ?

केटीएमले सार्वजनिक ग¥यो ६ नयाँ मोडेल

नेपालका लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलाश चन्द एण्ड कम्पनीले यसपटक एकसाथ ६ नयाँ मोडेल सार्वजनिक गरेको छ ।

कम्पनीले १० लाख रुपैयाँ पर्ने ३९० एन्ड्युरो आर, १० लाख ७५ हजार पर्ने ३९० एड्भेन्चर एस सार्वजनिक गरिएको छ ।
यस्तै, २०० ड्यूक –२०२५ ( ५ लाख ९९ हजार ९०० रुपैयाँ), २५० ड्यूक (२०२५(७ लाख १४ हजार ९०० रुपैयाँ), ३९० ड्यूक (२०२५) को ९ लाख ४९ हजार ९०० र २५० एड्भेन्चर (७ लाख ४९ हजार ९०० रुपैयाँ) रहेको छ ।

टीभीएसको आरटीआर ३१० प्रदर्शन, एनटर्क १२५ नयाँ कलरमा

टीभीएस मोटरसाइकलको नेपालका लागि वितरक जगदम्बा मोटर्सले नयाँ आरटीआर ३१० प्रर्दशनमा राखेको छ । यस्तै, एनटर्क १२५ स्कुटरको दुई नयाँ कलर अप्सन सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार एनटर्क १२५ (नयाँ कलर) को २ लाख ८२ हजार ९०० रुपैयाँ तोकिएको छ । यस्तै, आरटीआर ३१० (मूल्य घोषणा नभएको), आरआर ३१० (२०२५ भर्सन) र रोनिन (२ कस्टम मोडेल) प्रर्दशनमा रहेका छन् ।

बेनेली मोर्बीडेलीका दुई एड्भेन्चर बाइक

केटीएम इन्टरनेशनलले बेनेली ब्रान्डअन्तर्गत मोर्बीडेली नामक दुई नयाँ एड्भेन्चर बाइक ल्याएको छ । मोर्बीडेली २५२ (५ लाख ७५ हजार रुपैयाँ) , मोर्बीडेली ३५२ (९ लाख ९७ हजार रुपैयाँ) तोकिएको छ ।

याडियाबाट पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडिया इलेक्ट्रीकको आधिकारिक वितरक कुजु नेपालले पहिलो पटक विद्युतीय मोटरसाइकल किनेस र स्कुटर भेलेक्स सार्वजनिक गरेको छ ।

किनेस मोटरसाइकलको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । भेलेक्स स्कुटरको तीन भेरियन्ट सार्वजकि गरेको छ । यसको सुरुवाती मूल्य भने २ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

बीजी इलेक्ट्रिक : नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्क प्रालिले बीजी इलेक्ट्रिक ब्रान्ड अन्तर्गतका चार स्कुटर सार्वजनिक गरेको छ । आरयूभी ३५० आइइएक्सको २ लाख ७९ हजार ४०० रुपैयाँ, आरयूभी म्याक्सको ३ लाख २५ हजार ३००, सी१२ आइइएक्स २ लाख २८ हजार ४०० र सी १२ म्याक्स३.० को ३ लाख ४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सेगवेबाट चार विद्युतीय मोडेल

नाइमा एक्स्पोमा सेगवेले दुई इलेक्ट्रिक बाइक र दुई स्कुटर सार्वजनिक गरेको छ । साइबर (ई–बाइक) को ५ लाख ५५ हजार, सफारीको ३ लाख ५० हजार र ई १२५ एमके२ (स्कुटर) को ३ लाख ५० हजार र ई१५० एमके २ (स्कुटर) को भने ५ लाख रुपैयाँ तोकिएको छ ।

ट्रायम्फको स्पीड र स्क्र्याम्बलर नयाँ रंगमा

हंशराज हुलाश चन्दमार्फत बिक्री हुँदै आएको ट्रायम्फ मोटरसाइकलले दुई मोडेल नयाँ रंगमा सार्वजनिक गरेको छ ।
स्पीड ४०० यलो कलर र स्क्र्याम्बलर रेड कलरमा सार्वजनिक गरिएको छ । यी दुवैको मूल्य यथावत नै राखिएको कम्पनीले जनाएको छ ।

सीएफ मोटो एक्स्पोकै महँगो बाइक

ऋषि ट्रेड सेन्टरले सार्वजनिक गरेको सीएफ मोटो ४५० एसआरएस नाइमा एक्स्पोकै सबैभन्दा महँगो मोटरसाइकल बनेको छ । कम्पनीका अनुसार ४५० एसआरएसको १३ लाख ५० हजार रुपैयाँ र ३०० एनकेको ६ लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ ।

एथर र बजाज चेतकको इभि स्कुटर

विद्युतीय सवारीको क्षेत्रमा चर्चित एथर र बजाज चेतकले एक–एक स्कुटर सार्वजनिक गरेका छन् । कम्पनीका अनुसार एथर रिज्टाको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ र बजाज चेतकको ३ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ ।